भाद्र १० को विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा
विकसित देशहरूले उद्योग, यातायातलगायतका प्रयोजनमा अत्यधिक पेट्रोलियम पदार्थ, कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन हुने र त्यसले वायुमण्डलको तापक्रम अस्वाभाविक रूपमा बढाइरहेको उनको भनाइ छ।
काठमाडौं, भदौ १७ : नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भाद्र १० गते आएको विनाशकारी बाढीपहिरो प्राकृतिक विपत्ति मात्र हो वा मानव सिर्जित दुर्घटना पनि हो भन्ने विषयमा गम्भीर र वस्तुगत विवेचना आवश्यक रहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले भाद्र १० गतेको भयावह घटनाले हजारौँ नागरिकका लागि कालरात्रिको रूप लिएको बताए।
उनले विपत्तिको वस्तुगत निष्कर्ष निकाल्न सके मात्रै शोक र पीडालाई शक्तिमा बदल्न तथा आगामी दिनमा यस्ता दुर्घटना रोक्न र त्यसबाट बच्न सकिने धारणा राखे।
‘भाद्र १० गतेको त्यो भयानक विहानी कसरी हजारौँ नागरिकहरूको कालरात्री बनेर आयो, यो प्रकृति सिर्जित विध्वंश हो वा मानव निर्मित दुर्घटना। शोक र पीडाको घडीमा यो गम्भीर प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न अत्यन्त जरुरी छ। यसको वस्तुगत समुचित निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौँ । भावी दुर्घटना रोक्न तथा त्यसबाट बच्न सक्दछौँ,’ उनले भने।
सांसद थापाले जलवायु परिवर्तन र भू–मण्डलीय तापक्रम वृद्धिका कारण मानव जातिको अस्तित्वमै संकट उत्पन्न भइरहेको बताए। विकसित देशहरूले उद्योग, यातायातलगायतका प्रयोजनमा अत्यधिक पेट्रोलियम पदार्थ, कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन हुने र त्यसले वायुमण्डलको तापक्रम अस्वाभाविक रूपमा बढाइरहेको उनको भनाइ छ।
‘विज्ञ तथा वैज्ञानिकहरूको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ । विकसित देशहरूले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ, कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विषाक्त ग्यास उत्सर्जन गर्दछ । फलस्वरूप वायुमण्डलको तापक्रममा अस्वाभाविक वृद्धि हुन जान्छ । तापक्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ । जो भयावह बाढीपहिरोमा परिणत हुन्छ । परिणामतः त्यसले मानव बस्तीको अस्तित्व नै मेटाउँछ,’ उनले भने।
उनले वायुमण्डलको तापक्रम बढेसँगै उत्तरी र दक्षिणी ध्रुवतर्फका हिउँ पग्लिरहेको र यसले समुद्रको जलस्तर बढाउँदै लगेको बताए। समुद्रको जलस्तर बढ्दा समुद्री तटीय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढिरहेको उनको भनाइ छ।
सांसद थापाले वन विनाशले समेत जलवायु परिवर्तन तथा भू–मण्डलीय तापक्रम वृद्धिमा नकारात्मक भूमिका निर्वाह गरिरहेको बताए।
‘वायुमण्डलको तापक्रम वृद्धि हुँदा उत्तरी र दक्षिणी ध्रुवतिरका हिउँ पग्लिरहेका छन्। यसले एक प्रकारको सुनामीको सृष्टि गरिरहेको छ । समुद्रको जलस्तरमा वृद्धि हुँदै गएको छ । यसले समुद्र तटीय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढाएको छ। यसका साथै वन विनाशले पनि जलवायु परिवर्तन तथा भू–मण्डलीय तापक्रम वृद्धिमा उल्लेखनीय नकारात्मक भूमिका निर्वाह गरेको छ,’ उनले भने।











