सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी
काठमाडौं, भदौ १८ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा के....
काठमाडौं, भदौ १८ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकले पारित गरेको १७ बुँदे निर्णय सार्वजनिक गर्दै कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।
सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले दुई तिहाइको बलमा लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था र जनसरोकारको विषयमा गम्भिर गल्ती गरेकाले तत्काल नसच्चिए सदन र सडक दुवैतर्फबाट आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।
कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आगामी भदौ २४ गतेदेखि १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गाउँ–गाउँमा सञ्चालन गरेर सरकारविरुद्धको पार्टीको आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको पनि सहमहामन्त्री डा. महतले बताए।
महतले संविधानको मर्म र भावना विपरीत एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल हटाउन पनि सरकारसँग माग गरेको बताए। लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको मन्त्रिपरिषद बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट गरेकोप्रति आपत्ति जनाउँदै अबाञ्छित कार्य आगामी नदिन नदोहोर्याउन पनि सरकारलाई सचेत गराइएको सहमहामन्त्री महतले बताए।
सहमहामन्त्री महतले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम कानून सम्मत ढंगले अघि बढाउन नसकेकोमा पनि आपत्ति जनाए।
बैठकले म्याद सकिएका भातृ संगठनहरुको ६ महिना म्याद थपेर अधिवेशन सम्पन्न गरेर नयाँ केन्द्रिय कार्य समिति गठन गर्ने निर्णय पनि गरेको डा. महतले जानकारी दिए। विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको पनि म्याद ६ महिना थप गर्ने निर्णय गरिएको पनि उनले बताए।
कांग्रेसले संघीयता अनुकूलको पार्टीको विधान पारित गरी संगठन निर्माणको कामलाई पनि अघि बढाइएको जनाएको छ।






