धरहरा क्षेत्रमा पर्ने उपाकु मार्ग खोल्ने सहमति
काठमाडौं, भदौ १८ : धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ। बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्र....

काठमाडौं, भदौ १८ : धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ। बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको हो।
समझदारीअनुसार यो वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ। उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ। उपाकु हिंड्ने मानिसहरु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन्। काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिए। धरहरा क्षेत्र यही वडामा पर्छ।
“परम्परागत रुपमा जहाँबाट हिंड्ने गरिको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ” उनले भने। धरहरा पुनर्निर्माण कार्य हेरिरहनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ विज्ञ राजुमान मानन्धरले भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिए। उपाकु हिंड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिंड्न मिल्ने बनाउने सहमति भएको पनि उनले जानकारी दिए।
नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिंड्ने चलन छ। यस वर्ष भदौ २४ गते उपाकु परेको छ। त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ। सञ्चय कोष र साविकको गोश्वार हुलाकबीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ। पछि यहाँ स्थायी सडक बन्नेछ।
पुरानो धरहराको ठुटो रहेको स्थान र नयाँ निर्माणाधीन धरहराको बीचमा अस्थायी पदमार्ग निर्माण गरिँदै।











-1784808429.png)