छिटो–छिटो विकास देख्न नपाए जनतामा बेचैनी बढ्छः प्रचण्ड
चितवन, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका ....

चितवन, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन्।
भरतपुर महानगरपालिकाले बुधबार आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने बताएका हुन्।
छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए जनतामा बेचैनी बढेर जाने प्रचण्डको भनाइ छ। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘हामीले छिटोभन्दा छिटो एक्सनद्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ। नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ।’
अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले सबैको ध्यान विकास निर्माणतर्फ लगाउन जरुरी भएको उनको भनाइ छ।
देशमै रोजगारी सिर्जना गरी विकासलाई नयांँ युगतिर लैजान जोड दिँदै उनले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासंँगै संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गरे।
चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उनले भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए।
विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्रीसँग छलफल गरिने उनको भनाइ छ।











-1784808429.png)