अंकुर : एउटी स्त्रीको यौन, प्रजनन अधिकारदेखि अत्याचारविरुद्ध विद्रोहको बीज
जसरी जमिनमा बीज उम्रन मौसम लगायत धेरै कुरा मिल्नुपर्छ, त्यसरी नै मानिसले सन्तान जन्माउन पनि थुप्रै कुरा मिल्नुपर्छ। तर, समाजमा मिल्ने र नमिल्ने कुरा धेरै छन्– यस्तैमा घुमेको छ, चलचित्र अंकुरको कथा।
काठमाडाैं, पुस १७ : ‘म सुन्दै छु, तँ खेतमा जान चाहिरहेको छैनस्। बेवकुफ, असली बादसाह उही हो, जोसँग जमिन छ,’ भारतीय फिल्म अंकुरको एक संवाद हो यो। पूरै फिल्मको कथामा यो संवाद अर्थपूर्ण र प्रतीकात्मक लाग्छ।
संस्कृत शब्द अङ्कुरको अर्थ हुन्छ– उम्रँदैको पहिलो रूप, आँकुरो, टुसो। फिल्म अंकुरले पनि यही अर्थ बोकेको बुझिन्छ।
जमिन उब्जनीको स्रोत हो, देश बन्न पनि जमिन चाहिन्छ। सामन्तवादी युगमा जमिनको मूल्य ठूलो थियो, जमिनको मालिक नै दासहरु जन्माउँथ्यो। सबै मानिस जमिनको मालिक नभए पनि जीवनमा सन्तान जन्माउन धेरैले चाहन्छन्। जमिनले उब्जनी गरेजस्तै प्राणी वा मानिसले प्रजनन चाहन्छन् र त सृष्टि चलेको छ।
जसरी जमिनमा बीज उम्रन मौसम लगायत धेरै कुरा मिल्नुपर्छ, त्यसरी नै मानिसले सन्तान जन्माउन पनि थुप्रै कुरा मिल्नुपर्छ। तर, समाजमा मिल्ने र नमिल्ने कुरा धेरै छन्– यस्तैमा घुमेको छ, चलचित्र अंकुरको कथा।
चलचित्र सुरु हुन्छ, पर्वमय माहोलबाट। पर्वको उत्सव मनाउन एक हुल मानिस स्थानीय देवीको मन्दिर पुग्छन्। सोही हुलमा मिसिएकी छन्, चलचित्रकी प्रमुख पात्र लक्ष्मी (सबाना अज्मी) र उनका श्रीमान् किश्ताया (साधू मेहर)। विशेष पूजाआराधनासहित सन्तान प्राप्तिको वर माग्छन् उनीहरूले।
दृश्य अर्को पात्रतर्फ मोडिन्छ, जहाँ उक्त गाउँको जमिनदारका छोरा सूर्य (अनन्त नाग) आइकम पढाइ सकेर गाउँ फर्किएका हुन्छन्। पढाइलाई निरन्तरता दिन प्रयास गरेका सूर्यलाई परिवारबाट दबाब आएसँगै विवाह गर्छन्। लगत्तै अर्को गाउँमा पठाइन्छ, जमिनदारीको जिम्मेवारीसहित।
जहाँ उनको भेट लक्ष्मीसँग हुन्छ। सूर्य बस्न गएको घरको सरसफाइको काम लक्ष्मीले गर्दै आएकी हुन्छिन्। लक्ष्मीका श्रीमान् किश्ताया बोल्न र सुन्न सक्दैनन्। जात व्यवस्था अनुसार, उनीहरू कुम्हार हुन्, जो माटोका भाँडा बनाउँछन्। तर, धातुका भाँडाकुँडी प्रयोगमा आएसँगै किश्तायाको इलम छैन। ऊ बेरोजगार हुन्छ। नयाँ मालिक आएपछि श्रीमान्ले पनि काम पाइहाल्छन् कि भन्ने आशा लक्ष्मीलाई हुन्छ। सूर्यले उनलाई बयलगाडा चलाउने काम दिन्छन्।
कथा अघि बढ्ने क्रममा सूर्य लक्ष्मीप्रति आकर्षित हुन्छन्। सूर्यले आफ्नो हिसाबले लक्ष्मीप्रति आशक्ति पनि दर्शाउँछन्। जसलाई लक्ष्मी नजरअन्दाज गर्छिन्। यद्यपि, कालान्तरमा उनीहरूबीच सम्बन्ध स्थापित हुन्छ। तर, सूर्यकी श्रीमती सरु (प्रिया तेन्डुलकर) सूर्यसँगै आई बस्न थालेपछि उनीहरु बीचको आकर्षणले एउटा दूरी लिन्छ।
लक्ष्मी अब एक्ली हुन्छिन्। कारण, उनको श्रीमान् किश्तायाको पत्तो छैन। सूर्यले चोरीको आरोपमा उसको चारपाटा मुढेर गाउँ घुमाएको हुन्छ, दण्ड सजायस्वरूप। त्यसपछि किश्ताया लामो समय गाउँमा देखापर्दैनन्। बेपत्ता श्रीमान् अनि समयमा सन्तान नहुुनुको पीडाले उनको सामीप्यता सूर्यसँग बढेको हुन्छ। यहीबीचमा सूर्यबाट लक्ष्मी गर्भवती हुन्छिन्।
समाजका कारण सूर्य डराउँछन् र गर्भपतनका लागि लक्ष्मीलाई आग्रह गर्छन्। तर, उनी मान्दिनन्। बिस्तारै, गाउँसमाजमा हल्ला चल्न थाल्छ। बिस्तारै सूर्य लक्ष्मीदेखि तर्कन्छ।
यता केही रकम कमाएर लक्ष्मीका पति किश्ताया फर्कन्छन्। गर्भमा रहेको बच्चा उसले आफ्नै ठान्छ, ऊ खुसी हुन्छ। गाउँमै बसी काम गर्ने योजनाका साथ उनी मालिक सूर्यसँग कामका लागि गएका हुन्छन्। किश्तायाले लक्ष्मीबाट सबै कुरा थाहा पाएको शंका गरी सूर्यले किश्तायालाई कुटपिट गर्छ। लक्ष्मीले यसको विरोध गर्छिन्।
चलचित्रमा जातीय, लैंगिक, वर्गीय थुप्रै विभेद आउँछन्, ती विभेदको खरो विरोध गर्ने पुस्ता पनि आउँदै छ भन्ने फिल्मले संकेत गर्छ। लक्ष्मी र किश्तायामाथिको अत्याचारलाई नियालिरहेको एउटा किशोरले फिल्मको अन्तमा विद्रोह स्वरुप ढुंगाले झ्यालको सिसा फुटाएर भाग्छ।
यसरी फिल्म अंकुरले निसन्तानको मुद्दासँगै जातीय, वर्गीय, लैंगिक विभेदविरुद्ध विद्रोहको अंकुरण पनि देखाएको छ।
पाखण्डी सूर्य, गतिशील लक्ष्मी
चलचित्रका मुख्य पात्र सूर्यको सुरुवाती कथन हुन्छ, विभेद नमान्ने, रुढीवादी कुरा नमान्ने। समाज र व्यावहारिक जीवनमा फस्दै गएपछि ऊभित्रको प्रगतिशील चेत सकिएर जान्छ। उसले घरको सरसफाइ मात्र गर्ने लक्ष्मीलाई जात नमान्ने भन्दै भान्सामा ल्याउँछ, त्यसपछि ओछ्यानमा। उसको क्रान्तिकारी विचार यौनको आवेगसम्म मात्रै ठीक हुन्छ, तर व्यावहारिक जीवनमा ऊ आफ्नो विचारदेखि पछि हट्दै जान्छ। उसले सरुसँग बालविवाह गरेको हुन्छ, तर उसको बालविवाहप्रति विरोध गरेको देखिँदैन।
यता गरिबी र दाइजो प्रथाकै कारण लक्ष्मीको विवाह सुन्न र बोल्न नसक्ने किश्तायासँग भएको हुन्छ। एक अबला र दमित नारीका रूपमा सुरु भएको लक्ष्मीको चरित्र चित्रण चलचित्रको उत्तराद्र्धमा आइपुग्दा सबल बन्छ।
श्रीमान्ले छोडेर जाँदा एक्लिएकी लक्ष्मीले आफ्ना कुण्ठित यौनेच्छाको परिपूर्ति सूर्यबाट गर्छिन्। जसरी धर्तीमा बीज परेपछि अंकुर लाग्न थाल्छ, त्यसरी नै जवानीले स्वाभाविक रूपमा यौन र प्रजनन खोज्छ। समाजका मूल्य–मान्यता एकातिर छन्, तर सूर्यबाट गर्भवती हुँदा न उनलाई समाजको भय थियो, न त सूर्यको सम्पत्तिको लोभ। लामो समयदेखि सन्तान प्राप्तिको आकांक्षालाई उनले मार्न सक्दिनन्। सूर्यले गर्भपतन गर्न भने पनि उनी मान्दिनन्।
एक संवादमा सूर्यले उनलाई समाजले के भन्छ, डर छैन भनी प्रश्न गर्दा डर मैले मात्र मान्नुपर्ने हो भनी उनी प्रतिप्रश्न गर्छिन्।
सन्तान, त्यसमाथि छोरा– हाम्रो समाज एक प्रकारको मिथ नै बनेको छ। काजकिरियाका लागि पनि छोरा हुनैपर्ने हिन्दू मान्यता छ। त्यसैले सन् १९७४ मा बनेको यस फिल्मले तत्कालीन अन्याय, अत्याचार त्यसमाथिको व्यक्तिगत विद्रोह देखाए पनि नयाँ सोच र न्याय देखाएको छैन।
यौन र प्रजनन स्त्रीको नैसर्गिक अधिकार हो। छोराछोरी अरुका पनि पाल्न सकिन्छ। यौनेच्छाको आपूर्ति कसरी गर्ने ? यसको पनि मर्यादा छ। यद्यपि फिल्मले विद्रोहलाई प्रस्तुत गरेको छ। यौनको प्राकृतिक आवश्यकता परिपूर्तिका लागि मानिसले जात, धर्म, वर्ग भन्दैन। यद्यपि एकछिनको आवेगले पछि के समस्या आउँछन्, त्यो विवेकको पाटो हो।
निर्देशक बेनेगल सिनेमालाई समाजका विद्यमान विषयबारे वकालत गर्ने एउटा सामाजिक माध्यम मान्छन्। सामाजिक माध्यम भएकै कारण सिनेमामा सामाजिक उत्तरदायित्व झल्कने विषय आउनुपर्ने मान्यता निर्देशक बेनेगल राख्छन्।
तीन नेसनलसहित ४३ अन्य विविध अवार्ड विजेता चलचित्र
अंकुर चलचित्र बेनेगलको डेब्यु चलचित्र हो। निर्देशक बेनेगलजस्तै सबाना अम्जीले पनि यसै चलचित्रबाट डेब्यु गरेकी थिइन्। यस चलचित्रले सन् १९७५ मा, ‘उत्कृष्ट दोस्रो फिचर फिल्म’ अवार्ड पाएको थियो। त्यस्तै, सबाना अज्मीले उत्कृष्ट अभिनेत्री, साधू मेहरले उत्कृष्ट अभिनेता नेसनल अवार्ड हात पारेका थिए। यसका साथै, यस चलचित्रले ४३ वटा अन्य विभिन्न अवार्ड जितेको छ। सन् १९७४ मा २४औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गोल्डन बिअर’ अवार्डका लागि समेत मनोनित भएको थियो।
अंकुरपश्चात् निशान्त र मन्थन गरी अन्य दुई चलचित्र श्याम बेनेगलले बनाए। सामाजिक व्यवस्थाविरुद्ध बनेका यी चलचित्रमा समाजको क्रमिक परिवर्तन देखाइएको छ।
चलचित्र युट्युबमा उपलब्ध छ।











