न्यौपानेकाे फरक मत : पार्टीकाे आन्दोलन ओरालो लाग्नुको मुख्य कारण नेताहरुको अपारदर्शी आर्थिक जीवन (पूर्णपाठसहित)
अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको पनि उनले बताएका छन्।
काठमाडाैं, पुस १५ : नेता लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै फरक मत राखेका छन्।
उनले माओवादी केन्द्रको आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन भएको ठहर गरेका छन्।
‘हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकूत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फुर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन,’ उनले फरक मतमा भनेका छन्।
अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको पनि उनले बताएका छन्। ‘तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिँदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र। यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र,’ उनले भनेका छन्।
यस्तो छ न्यौपानेको फरक मत
फरक मत
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (पुस ११–१५, ०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत राख्दछु।
१. महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन। विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन।कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो। नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन।
२. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन। जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुवीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ।
त्यसैगरी तीव्र रुपमा भइरहेको आन्तरिक बसाई सराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनी (२३ प्रतिशत) र गरिबीको रेखामुनी (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’लाई सही सिद्ध गर्न सकिन्छ।
३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन। दक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ?
पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ। उहिल्यै १९५६ मा बदनाम भएको ख्रुश्चोवी लाइनअनुसार जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो। तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अवलम्बन गर्ने हदसम्म ठिक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ।
दोस्रो, मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु मार्क्सवाद बिस्तारै छोड्दै जाने दक्षिणपन्थ हो।
तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गछौं त्यो भन्न सक्दैनौं। यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो। ०४८ मंसिरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नम्बर बुँदा हेर्दा प्रमाणित हुन्छ।
त्यहाँ भनिएको छ, ‘भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिस्ट आन्दोलनकै सांस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं। हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ। नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वमा कम्युनिस्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ। सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो। तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र वुर्जवाहरुको भन्दा खासै फरक पाइँदैन। अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ।
बोलीको ठेगाना नहुने, निम्नस्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखापर्ने गरेका छन्। जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही हुँदैन।
गत कालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन्। पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताका साथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ। अन्यथा ‘घुमिफिरी रुम्जाटार भनेझैं’ हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न।’
पार्टी सानो हुँदा, सत्तामा नहुदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा डुबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन्। जिम्मा क–कसले लिने हो?
४. बनिबनाउ बुर्जुवा राज्यसत्ताअन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन, बरु मार्क्सवाद विरोधी हो। पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हाम्रै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं।
दोस्रो, चुनावबाट अएको भेनेजुयलाका चावेज जो कम्युनिस्ट होइनन्वा, मपन्थी मात्र थिए, उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुयला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे। अन्मुनियम र तेलमा भएको वैैदेशिक लगानीको अन्त्यको घोषणा गर्दै राष्ट्रियकरण गरे र भूमिसुधार लागुगरेर जमिन्दारहरुको जमिन किसानहरुलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिस्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धीलगायत अन्य असमान सन्धीबारे चुसम्म नबोल्नुजनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने सन्दर्भसँग बाझिन्छ।
आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यावहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन।
५. ०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं। एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनहितको मूल्याङ्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमुना पालिका सरकार कतै छ? यसको निर्मम समीक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउँछ।
जसरी सन् १९५९ को क्युबाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको पर्याय बनेको थियो। त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन। बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आफू कम्युनिस्ट भएको सार्वजनिक गरे। हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ। यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ।
६. हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो। हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकूत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन।
सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ। त्यसकारण हाम्रा नेताहरु, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानबिन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं। आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारबाही गर्ने आँट गरौं। अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ।
७. एकातिर हामीले दलाल पँुजीवादविरुद्ध लड्ने कुरा गरेका छौं भने अर्कोतिर दलाल पुँजीवादको घोडा चडेर दौडिरहेको उदार पुँजीवादी शक्तिसँग रणनीतिक मोर्चा बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं। यसलाई सैद्धान्तिक र व्यावहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पँुजीवादको घोडसवार बन्नुको विकल्प छैन।
सायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुनकुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन। जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुर्याउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ साथैयसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ।
जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्क्रिय हुन्छौं तब पार्टीमा अन्तरसंघर्ष विहीन मान्छेहरुको झुण्ड मात्र बाँकी रहन्छ। अन्तरसंघर्षविहीन पार्टी मृत पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन।
८. दलाल पुँजीवादविरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ। पसिना बगााएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका खास आधार हुन्।
श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पुँजीले हैकम चलाउँछ। बिनापसिना, उत्पादनसँगको बिनासहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के होरु हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो।
यसकारण दलाल पँुजीसँगको हाम्रो हितैषी सम्बन्धलाई व्यवहारिक अन्त्यको घोषणा, उद्योगरव्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र बिचौलीया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी माक्र्सवादी बन्न सक्छौं। आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ। यसरी मात्र दलाल पँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं।
९. एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन। एमालेसँगको चुनावी तामलमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो।
त्यस्तो पँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म बिना संकोच गरिरहेका छौं? यो दक्षिणपन्थ होइन? अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारबाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन,यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ।
१०. हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिँदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र। यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र।
हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको ‘बा’ प्रवृत्ति देखिएको छ। तपाई आफै सशरीर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला?
१४ पुस, ०७८











