काठमाडाैंमा भदौ २३ देखि विद्युतीय बस चल्ने, चार्जिङ स्टेशन सञ्चालनमा
काठमाडौं, भदौ १७ : निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
काठमाडौं, भदौ १७ : निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
भदौ २३ गतेदेखि चार वटा विद्युतीय बसबाट सेवा दिनेगरी सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो।
मंगलबार चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएको बताए।
विद्युत् खेर जाने सम्भावनालाई मध्यनजर गरेर सरकारले विद्युत् खपत बढाउने नीति तथा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको सचिव घिमिरेको भनाइ छ।
कार्यक्रममा सुन्दर यातायाताका अध्यक्ष भेषबहादुर थापाले चार्जिङ स्टेशन सञ्चालनमा आएपछि एकै पटक ६ वटासम्म सवारी साधन चार्ज गर्न सकिने बताए। उनका अनुसार चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले चार हजार बराबरको इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै सात सय बराबरको विद्युत् खपत गर्छ।
उनले प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको बताए। प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ। सार्वजनिकरुपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिनेछ।
एक करोड ६२ लाख पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै उनले महङ्गो सवारी साधनले लागत उठाउँछ त भन्ने धेरैको जिज्ञासा रहेपनि आगामी ६ वर्षभित्र आफूहरु नाफामा जान सक्ने अवस्था रहेको बताए।
विद्युतीय सवारी साधनको मर्मत तथा सञ्चालन खर्च कम पर्ने भएकोले आम नेपाली त्यसैमा अभ्यस्त हुने विश्वास उनको छ।संस्थाले सुकेधारा र सीतापाइलामा पनि चार्जिङ स्टेशन निर्माण गरिसकेको छ।
संस्थाले निकट भविश्यमा नै प्रदेश नं ५ को बुटवल र प्रदेश नं १ को विराटनगरमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ।











-1784808429.png)