Kathmandu Press

छानविन समितिको निष्कर्षः ११ वटै गाडीमा प्राविधिक कमजोरी, तीन गाडी फिर्ता गर्न सुझाव

काठमाडौं, भदौ १७ : संघीय संसद  सचिवालयले  संसदीय समितिका सभापतिका लागि खरिद गरेका सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको छानविन समिति....

छानविन समितिको निष्कर्षः ११ वटै गाडीमा प्राविधिक कमजोरी, तीन गाडी फिर्ता गर्न सुझाव

काठमाडौं, भदौ १७ : संघीय संसद  सचिवालयले  संसदीय समितिका सभापतिका लागि खरिद गरेका सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको छानविन समितिले निष्कर्ष निकालेको छ।

संसदीय समितिका सभापतिहरुले चढ्ने गरेका गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानविन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेका  ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको छ। 

सामान्य प्राविधिक त्रुटी भेटिएका गाडी एक हप्ताभित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका तीन वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद् सचिवालयलाई निर्देशन दिइएको छानविन समितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए। 

छानविन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानून बमोजिम कारबाही गर्न पनि सिफारिस गरेको संयोजक विडारीले बताए।

छानविन समितिले प्राविधिकहरु, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै गाडीका पाट्र्सहरु मिलाएर नराखिएको पाइएको पनि जनाएको छ। संयोजक विडारीले तीन वटा गाडीमा भने मुख्य समस्या देखिएकाले ती गाडीलाई फिर्ता गराउन भनिएको पनि स्पष्ट पारे।

छानविन समितिको प्रतिवेदन बुझ्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन्।

संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरुको प्रयोजनका  लागि खरिद गरिएका गाडीमा समस्या आएपछि छानविनका लागि सांसद विडारी संयोजक  तथा सांसदहरु तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहेको छानविन समिति गठन गरेको थियो।

छानविन समितिले सभामुख महरालाई बुझाएको प्रतिवेदनमा गाडी खरिद प्रक्रिया भने कानूनसम्मत रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्