डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चारको मृत्यु
चितवन, भदौ १७ : डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चार जनाको मृत्यु भएको छ। उपचारका क्रममा चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु....

चितवन, भदौ १७ : डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चार जनाको मृत्यु भएको छ। उपचारका क्रममा चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटकी २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ। त्यस्तै, अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढमा बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको छ। रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय युवकको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले बताए।
चितवनमा दुवै रोगको सङ्क्रमण बढ्दो छ। जिल्लाका अस्पतालमा साउनयता एक हजार नौ सय आठ जनाको डेङ्गु परीक्षण गर्दा ६ सय २३ जनामा सङ्क्रमण देखिएको केसीले बताए।
जसमध्ये चार सय ५५ जना चितवनका रहेका छन्। त्यसमध्ये पनि चार सय १४ जना भरतपुर महानगरपालिका भित्रका रहेको उनले बताए।
स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ। सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन्।











-1784808429.png)