Kathmandu Press

पशुपतिमा व्यवस्थित तीज, चार लाख बढीले गरे पूजा 

काठमाडाैं, भदाै १६ : पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ। सोमबार बिहान ३ बजेदेखि नै पशुपत....

पशुपतिमा व्यवस्थित तीज, चार लाख बढीले गरे पूजा 

काठमाडाैं, भदाै १६ : पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ। सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो। 

बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए। मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार ठाउँबाट लाम लाग्ने व्यवस्था गरिएको छ। उत्तरतिर गुह्येश्वरी र दक्षिण एयरपोर्ट तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्ने लाम लामो देखिन्छ। 

पश्चिम जयवागेश्वरीबाट छिर्ने लाम भने सहज रहेकाले भक्तजनलाई त्यताबाट पस्न उनले आग्रह गरे। यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तीजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिक रुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तपुरको साँगाबाट आएकी रश्मिला ढुङ्गानाले बताइन्। विगत वर्षभन्दा यस वर्ष लामबाट मन्दिर प्रवेश गरी दर्शन गर्न सहज भएको उनको प्रतिक्रिया थियो। 

दिउँसो २ बजेसम्म करीब चार लाख भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको सदस्यसचिव ढकालले जानकारी दिए। तीजको दिन सोमबार पनि परेकाले भक्तजनको बढी भीड लागेको हो। भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका छन्। यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ। तीस प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले बताए। भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ। 

मन्दिर दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायत स्थानमा भक्ति सङ्गीतसहित गीत एवम् नाचगान गरेर बसेका छन्। 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, भदौ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्