Kathmandu Press

नेपालगञ्जका मेयर राणालाई कारबाही गर्न माग

काठमाडौं, भदौ १६ : नेपाल भेटेरीनरी एसोसिएशनले गौहत्या प्रकरणमा संलग्न रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कार....

 नेपालगञ्जका मेयर राणालाई कारबाही गर्न माग

काठमाडौं, भदौ १६ : नेपाल भेटेरीनरी एसोसिएशनले गौहत्या प्रकरणमा संलग्न रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कारबाही गर्न माग गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एसोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि तीन वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानूनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न मेयर राणालाई कडा कानूनी कारबाही गर्न माग गरेका हुन्।

उनले सुर्खेतमा गरिएको सो गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कारबाही गर्न सरकारलाई आग्रह गरे। अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कारबाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।

त्यसैगरी एसोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपिट गर्न समेत नपाउने एसोसिएशनको तर्क छ।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, भदौ १६, २०७६