Kathmandu Press

अब म्याच फिक्सिङ गर्ने खेलाडीलाई तीन वर्ष कैद

काठमाडौं, भदौ १६ : अब म्याच फिक्सिङ गर्ने खेलाडीलाई कारवाही हुने भएको छ। सरकारले खेलमा मिलेमतो (म्याच फिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्....

अब म्याच फिक्सिङ गर्ने खेलाडीलाई तीन वर्ष कैद

काठमाडौं, भदौ १६ : अब म्याच फिक्सिङ गर्ने खेलाडीलाई कारवाही हुने भएको छ। सरकारले खेलमा मिलेमतो (म्याच फिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ।

मिलेमतो भएको प्रमाणित भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवानाका गरिनेछ। त्यस्तै, म्याच फिक्सिङमा रकम लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ।

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको ‘खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा यो प्रावधान राखिएको हो।

प्रतिनिधिसभा, शिक्षा  तथा स्वास्थ्य समितिमा हाल विधेयक छलफलका क्रममा छ। विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्। ‘नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्वद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन,’ विधेयकमा उल्लेख छ।

मिलोमतोका लागि उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई समेत कारवाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ। यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पुगेको छ।

विधेयकको प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई  पाँच लाखसम्म जरीवाना र  हदैसम्मको कारवाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गरे।

त्यस्तै, सांसद दीव्यमणि राजभण्डारी, जीवनराम श्रेष्ठलगायतले खेलकुद परिषद्को काममा व्यापक सुधार गरी खेलकुदको पुनसंरचना गर्नुपर्ने आवश्यकता औल्याए।

विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल सङ्घ गठन गर्न सक्ने रहे पनि  एक खेलका लागि एक भन्दा वढी सङ्घ गठन गर्न नसकिने, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा वढी अवधिका लागि खेल सङ्घको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वाचित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी, प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइनेजस्ता प्रावधान पनि विधेयकमा छ।

प्रकाशित मिति: १५:२८ बजे, सोमबार, भदौ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्