Kathmandu Press

पुस्तान्तरणको मार्ग कोर्दै रुपान्तरित कांग्रेस

अब यो रुपान्तरित कांग्रेसले आगामी दिनमा लिने नीति तथा कार्यक्रम अनि अहिले आएका युवा वर्गको कार्यकुशलता र क्षमताका आधारमा आगामी दिनमा पुस्तान्तरण पनि गर्दै जाने अपेक्षा गर्न सकिन्छ। नत्र, उपस्थिति मात्रले न पुस्तान्तरण र न त रुपान्तरण नै सम्भव छ।
पुस्तान्तरणको मार्ग कोर्दै रुपान्तरित कांग्रेस

काठमाडौं, पुस १० :  बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकी एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकार डेभिड मुइरले सोधे–अर्को कार्यकालको राष्ट्रपति पदमा उठ्ने यहाँको योजना छ? बाइडेनको जवाफ थियो– उठ्छु, किन नउठ्नु? म अहिले जत्तिकै सक्रिय रहे भने अर्थात् स्वास्थ्यले साथ दियो भने उठ्छु। राष्ट्रपति बाइडेन अबका केही महिनामा ८० वर्षमा उक्लिने तयारीमा छन्। त्यहाँको अर्को निर्वाचन सन् २०२४ मा हुन्छ र त्यतिबेला उनी ८४ वर्ष लाग्ने तरखरमा हुनेछन्।

उता गत वर्षमात्र राजनीतिक जीवनबाट विश्राम लिएका मलेसियाका निवर्तमान प्रधानमन्त्री ९६ वर्षीय महाथीर मोहम्मदले ९४ वर्षको उमेरमा प्रधानमन्त्रीको सपथ लिए। महाथीर मोहम्मद एक सामान्य राजनीतिकर्मी नभएर अहिलेको मलेसिया बनाउने व्यक्तिको नाम हो। त्यसबेला मेलेसिया र बाहिरी विश्वमा बहस नै भयो कि ९४ वर्षमा पनि किन मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा जानुपर्‍यो? राजनीतिमा उमेरको बहस यसैगरी समयसमयमा देश विशेषमा उठ्छ र हराउँछ।  

पाँच वर्षअघिको तेह्रौँ महाधिवेशनमा नेपाली कांग्रेसका एक तिहाइजति महाधिवेशन प्रतिनिधि आएका थिए ३० वर्ष हाराहारीका। त्यसका कारण थियो कांग्रेसका भ्रातृ सङ्गठनको महाधिवेशन लामो समयदेखि रोकिनु। नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दललगायत सबैजसो भ्रातृ सङ्गठनका सम्मेलन, महाधिवेशन ठप्प भएपछि कांग्रेसका युवा कहाँ जाने रु पार्टीको महाधिवेशन सुरु भयो, उनीहरु पनि त्यतै लागे। चुनाव उठे, निर्वाचित भएर आए । यसरी अघिल्लो महाधिवेशनमा इतिहासमै सबैभन्दा बढी युवा चुनिएर आए भनिएको थियो।

यता नेपाली कांग्रेसमा सशक्त र युवा छविका नेता गगन थापाको महामन्त्री उठ्ने तयारी थियो। त्यस बेलाको नारा नै थियो–युवाले युवालाई छान्नुपर्छ, बुढापाकाको मात्र भनिएको कांग्रेसलाई अब युवा वर्गमा पुस्तान्तरण गर्दै लैजानुपर्छ। यही आशामा रहेका थापाको परिणाम भने त्यस्तो आएन। महामन्त्रीमा थापाले ६०० भन्दा केही बढी मत मात्र पाए। 
    
अघिल्लो जस्तो रहेन कांग्रेसको १४औं  महाधिवेशन। अहिले भने यसले छानीछानी युवा रोजेको छ। अघिल्लोमा पार्टीका महाधिवेशन प्रतिनिधि मात्र युवा छनोट गरेको कांग्रेसले अहिले केन्द्रीय समिति र पदाधिकारीमै युवाको मूल फुटायो। काठमाडौँमा कुन्दनराज काफ्ले तथा अजयबाबु शिवाकोटीदेखि उता कर्णालीमा बद्री पाण्डेसम्म छुटेका छैनन्।

यता जीवन परियारदेखि मधेसमा मुक्ताकुमारी सम्मलाई यो महाधिवेशनले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनेको छ। अघिल्लो महाधिवेशनमा युवा प्रतिनिधिले नै युवा छान्न नसकेको भनिएको बेजो अहिलेका युवाले उठाएका छन्भन्दा हुन्छ। बुढापाकाको भनिएको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेस अब भने युवामय बनेको छ।   

बुढापाकाको पार्टी भनिएको कांग्रेसमा युवापुस्ताको रुपान्तरणको बहस हिजो निकै चल्यो। यो पछिल्लो महाधिवेशनको परिणाम हेर्दा अब पार्टी लगभग युवाको पोल्टामा रुपान्तरित भएको देखिएको। त्यसैले अब यो बहस सुरु भएको छ–के युवावर्गको उपस्थिति मात्रले कांग्रेस रुपान्तरित हुन्छ? या यो रुपान्तरणले अबको कांग्रसलाई पुस्तान्तरणसम्म पु¥याउन मद्दत गर्छ? अथवा कांग्रेस या अरु कुनै पनि पार्टी या देशको निर्माण र रुपान्तरण युवाबाट मात्र सम्भव छ? अथवा युवाको प्रतिनिधित्व मात्र पार्टीको जीवन या पुनर्जीवन हो? 

कुनै पनि पार्टीलाई जीवन्त राख्ने ‘अक्सिजन’ विचार हो। अनि त्यो विचारलाई क्रियाशील बनाएर जनजनमा पु¥याउन क्रियाशील नेतृत्वको आवश्यकता त पर्छ नै। विचार आफँैमा विचरण गर्ने वस्तु होइन। त्यसलाई चलायमान बनाउन चलायनमान हुनसक्ने नेतृत्व नै आवश्यक रहन्छ। त्यसैले युवाको उपस्थिति मात्र पार्टीकोे क्रियाशील जीवन होइन। ती युवाको क्रियाशीलताले विचार बोकोस र पार्टीका कार्यकर्ता उत्पादन गर्ने नर्सरीका स्वरुपमा रहने भ्रातृ सङ्गठन र समग्र कार्यकर्तासम्म त्यो विचार र कार्यक्रमलाई कुशलरुपमा लैजान सकुन्। पार्टीमा युवाको प्रतिनिधित्वको बहस जुनसुकै पार्टीमा हिजो पनि थियो। तर अहिले यो बहस कांग्रेसको नेतृत्वमा आएका गगन थापा, विश्वप्रकाश शर्मा र अरु युवाको प्रतिनिधित्वले सतहमा ल्याएको मात्र हो। 

त्यसो त उनीहरुको उपस्थितिलाई मात्र नभएर आजसम्मको क्रियाशीलता र विचारलाई नै आवश्यक ठानेर महाधिवेशनले उहाँहरुलाई चुनेको हो। तर पनि अबका उनीहरुका कार्यक्रमले मात्र पार्टीको भविष्य निर्धारण गर्ने हो। यसैले नै पार्टीमा पुस्तान्तरणको मार्ग कोर्ने हो। माथि प्रस्तुत दुई विदेशी पाका राजनीतिज्ञको दृष्टान्तबाट राजनीतिमा उमेरको बार त्यति आवश्यक नपर्न पनि सक्छ । तर यी दृष्टान्तबाट पार्टीमा युवावर्गको आवश्यकतामाथि प्रश्न गर्नु यो आलेखको आशय भने होइन। बाइडेन र डोनाल्ड ट्रम्पका तुलनामा ४६ र ४७ वर्षमा राष्ट्रपति बनेका बिल क्लिन्टन र बाराक ओबामाका कार्यकाल राम्रो पक्कै थिए होलान्। अनि ९४ वर्षमा प्रधानमन्त्री हुँदाभन्दा सन् १९८० को दशकमा देशको कार्यकारी प्रमुख बनेर बलेसिया बनाएको महाथिर मोहम्मदको जाँगर पक्कै जोसिलै हुँदो हो। तर पनि वास्तविकता के हो भने उनीहरुका फरक उमेरमा पनि उचित विचार बोकेकैले ती देश र कार्यकालले कोल्टे फेरेको भने पक्कै हो।   

कांग्रेसको भर्खरै सकिएको महाधिवेशनले यो दुवै सन्देश राम्रोसँग दिएको छ। किनभने कांग्रेसमा विचारका साथै परिपक्व र युवा उमेरलाई महाधिवेशनले नेतृत्वमा पु¥याइदिएको छ। पार्टीमा पाको उमेरका अनुभवी र परिपक्व शेरबहादुर देउवालाई मूल नेतृत्वमा पु¥याएको छ भने ठूलो सङ्ख्यामा युवा वर्गलाई पनि पदाधिकारीदेखि केन्द्रीय समितिसम्म पुर्‍याएको छ। यो हेर्दा लाग्छ समय समयमा माओवादी अध्यक्ष प्रचण्डले भन्ने गरेजस्तै ‘फ्युजन’ वास्तवमा कांग्रेस पार्टीभित्र भएको देखिएको छ। अर्कातर्फ पार्टीमा आफू निकटका एक सक्रिय र अनुभवी नेता डा. प्रकाशशरण महतबाहेक सभापतिमा पुनःनिर्वाचित शेरबहादुर देउवालाई अपेक्षित नै परिणाम हात लागेको छ। 

केन्द्रीय समितिमा उनको ८० प्रतिशतभन्दा पनि बढी बहुमत प्रारम्भिक  रुपमा देखिएको छ। यो सुविधाले पनि उनलाई आगामी दिनमा पार्टी र यसमार्फत देशलाई नै लाभ दिलाउन थप सजिलो बनाइदिएको छ। फेरि पार्टीमा युवा वर्गले मात्र नभएर रुपान्तरणको मुद्दा सभापति देउवाले पनि उठाएका हुन्। सभापतिका आकांक्षी देउवाले नै उत्साह, एकता र रुपान्तरणलाई आफ्नो नारा बनाउनुभएको थियो। सायद अब यही पुस्ताको कार्यक्षमता र कार्यकुशलताले अब पार्टीमा पुस्तान्तरणको मार्ग कोर्ने छ र आगामी दिनमा अहिलेको रुपान्तरणको जस्तै युवालाई पार्टीको पुस्तान्तरणका लागि पनि तयार पार्ने।  
      
सभापति र प्रधानमन्त्रीका अवसर र चुनौती 

नेकपा बनेको तीन वर्षमै अन्तरपार्टी विरोध उत्पन्न भयो। विरोधमा मात्र सीमित रहेन, यसले विग्रह र अन्ततः विभाजन नै निम्त्यायो। जसको रिस दुईपटकसम्म संसद्सामु पोखियो र विघटन गरियो। यद्यपि, दुवैपटक संसद्लाई पुर्नजीवन दिलाउने कार्यको नेतृत्व प्रमुख विपक्षी दलको नेताको हैसितमा शेरबहादुर देउवाले गरे। 

त्यसपछि नेकपाकै एक घटकको साथ र सहयोगमा देशले नयाँ सरकार पायो र त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरे। यहाँ यो दृष्टान्त पेश गर्नुका कारण के हो भने नेकपा, मधेसी र अरु पार्टीमा पनि यसबीचमा टुटफुट आयो तर कांग्रेस भने एकताबद्ध रह्यो। यसको अर्थ कांग्रेसमा अन्तरपार्टी कलह नरहेको भने होइन। पार्टीभित्र साठी चालिसको घेरा तेह्रौँ महाधिवेशनदेखि नै कोरिएको थियो र यसले अन्तरपार्टी कलह बढाएकै थियो। 

अर्को कुरा अघिल्लो संसदीय चुनावमा नेकपा एक भएर जाँदा कांग्रेसले चुनाव हारेपछि त्यसको अपजस पनि सभापति देउवाकै थाप्लोमा परेको हो। यी सबै अपजसलाई उनले थेग्दै पार्टीलाई १४ औं महाधिवेशनसम्म ल्याए। पार्टीभित्रै पनि भ्रातृ सङ्गठन र विभाग गठन गर्न नसकेको अपजस पनि उहाँमा थियो नै। यी सब विरोधका बाबजुद पनि उनले धैर्य गरे र पार्टीलाई एकताबद्ध बनाएरै ल्याए। हरेक निर्णयमा सभापति देउवाले आफूलाई पार्टीमा उपलब्ध बहुमतको सहारा लिन चाहेनन्। पार्टीले गर्ने हरेक निर्णयमा बहुमतको निर्णय नभएर सहमतिका आधारमा गर्नुपर्छ भन्ने उनको अडान थियो। अहिले सबैको धारणा यही छ कि उहाँको यही क्षमताकै कारण पार्टी एकता कायम भएको हो।       

प्रधानमन्त्री देउवाका काँधमा सभापतिका रुपमा पार्टी हाँक्नुपर्ने चुनौती त छँदैछ, देशको विशिष्ठ राजनीतिक परिवेशको निकासमा पनि उनको कुशलता अझै आवश्यक छ। झन्डै दुई तिहाइको नेकपाको सरकारले देशलाई निकास दिन नसकेपछि यो विशिष्ठ परिस्थितिमा बनेको सरकारको नेतृत्व अहिले उनले गदैछन्। अब स्थानीयदेखि सङ्घीय संसद्सम्मको निर्वाचन गर्नुपर्नेछ । पक्कै पनि निर्वाचन भनेको चुनौतीपूर्ण काम हो नै। त्यसमा पनि स्थानीय तहदेखि प्रदेश संसद् हुँदै सङ्घीय संसद्को निर्वाचन गर्नु पर्नेछ। ती काम सन्निकटमै रहेकाले अब सरकारले गृहकार्य थाल्नुपर्ने अवस्था छ। 

यसका अतिरिक्त देउवाले कांग्रेसको सभापतिका रुपमा दोस्रो पटक आफूलाई अघि सार्दा सबै तहका निर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाउँछु भनेका छन्। त्यसका लागि पनि उहाँलाई पार्टीका ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले अवसर दिएका हुन् र सभापतिमा निर्वाचित गरेका हुन्। आफ्नो यो प्रतिबद्धता पूरा गर्न पनि सभापति देउवा लाग्नुर्पेछ। उनले पार्टीलाई पहिलेकै अवस्थामा ल्याउनेगरी लाग्ने प्रण पनि गरेका छन्।

यसका अतिरिक्त उहाँले पार्टीका सबै भ्रातृ सङ्गठनको महाधिवेशन गर्ने तथा यथोचितरुपमा विभाग गठन गर्ने पनि प्रण गरेकाले यसलाई पनि उनको यो नयाँ कार्यकालले अवसरका रुपमा लिन सक्छ। यी दुवै काम प्रधानमन्त्रीका रुपमा र पार्टी सभापतिका रुपमा सम्पन्न गर्नका लागि देउवालाई अवसरका रुपमा रहनेछन्।    

पार्टीको १४औं महाधिवेशनले पार्टीमा लामो समयसम्म काम गरेको परिपक्व तथा अनुभवी नेताका रुपमा देउवालाई सभापतिका रुपमा चयन गरेको छ भने उता ऊर्जाशील युवालाई पनि कार्यकारी पदमा ल्याएको छ। यसरी पुरानो र नयाँ पुस्तालाई महाधिवेशनले संयोजन गरिदिएको छ। यो संयोजनले चाहेमा पार्टी र देशका लागि पनि राम्रो परिणाम दिन सक्छ। कुनै पनि पार्टी सञ्चालन गर्नका लागि त्यहाँ अनुभवी व्यक्ति र नयाँ पुस्ताका उर्जाशील एवं सशक्त युवा शक्ति हुनु नितान्त जरुरी छ। त्यही संयोजनकारी भूमिकाको काम महाधिवेशन प्रतिनिधिले गरेका छन्। पुरानो भनिएको यो पार्टीमा नयाँ पुस्ताको उपस्थिति खोजिरहेका बेला त्यो पनि दिएको छ र पार्टी सञ्चालनका लागि पाका नेता पनि उपलब्ध गराएको छ। 
  
नीति महाधिवेशनको सान्दर्भिकता 

नेपाली कांग्रेसले यसपटक नीति महाधिवेशन अलग्गै गर्ने भएको छ। पहिलो पटक कांग्रेसले नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्न लागेको हो। पहिलोदेखि १३औं महाधिवेशनसम्म नेतृत्व सँगसँगै नीति महाधिवेशन गर्दै आएको कांग्रेसले यसपटक महाधिवेशनले नेतृत्व मात्रै चुन्ने र छ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय गरेको छ।

त्यसो त विगतमा पनि महाधिवेशनमा नीतिबारे खासै छलफल हुँदैनथ्यो। बढी ध्यान त नेतृत्व चयन प्रक्रियामै जाने गर्दथ्यो। त्यसैले नीति, कार्यक्रम तथा विचारमाथि बहस र छलफलका लागि अलग्गै महाधिवेशन हुनु राम्रो हो। यसले पार्टीको आगामी नीति, सिद्धान्त कार्यक्रममा छलफलका लागि प्रशस्त समय र वातावरण पनि उपलब्ध हुनेछ। त्यसैले नीति महाधिवेशन गरेर कांग्रेसको नीति, सिद्धान्त विचार कार्यक्रमका बारेमा स्पष्ट मार्गचित्र बनाउनसकेमा यसले पार्टीलाई रुपान्ततरण तथा पुस्तान्तरणको एजेण्डालाई साकार बनाउन थप सहयोग गर्नेछ। यस्तो मार्गचित्र निर्माण गरेर यसैका आधारमा पार्टीको घोषणापत्रसमेत निर्माण गरेर अघि बढ्न सकेमा कांग्रेसलाई आगामी निर्वाचनमा जनताका बीचमा आफ्नो मुद्दा लिएर जान सजिलो हुनेछ। 

यसरी युवाको उपस्थिति खोजेको कांग्रेसमा अहिलेको सहभागिताले युवामा रुपान्तरण भएको छ भन्न सकिन्छ। अब यो रुपान्तरित कांग्रेसले आगामी दिनमा लिने नीति तथा कार्यक्रम अनि अहिले आएका युवा वर्गको कार्यकुशलता र क्षमताका आधारमा आगामी दिनमा पुस्तान्तरण पनि गर्दै जाने अपेक्षा गर्न सकिन्छ। नत्र उपस्थिति मात्रले न पुस्तान्तरण र न त रुपान्तरण नै सम्भव छ।   

प्रकाशित मिति: १८:३० बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्