१६ विदेशीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ
झापा, भदौ १६ : आर्थिक प्रलोभनमा परी १६ विदेशीलाई नेपाली नागरिकता दिएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय झापाक....

झापा, भदौ १६ : आर्थिक प्रलोभनमा परी १६ विदेशीलाई नेपाली नागरिकता दिएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका खरिदार न्यौपानेसहित भद्रपुरका टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन्। बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन्।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। घटनामा संलग्न अन्य व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने उनको भनाइ छ।
गैरकानूनीरूपमा विदेशीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन शुरु गरेको थियो। निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन्। उनीहरुले ‘सेटिङ’मा विदेशीलाई नागरिकता दिएको आरोप छ।
विदेशीलाई नागरिकता दिन सिफारिश गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि पनि छानविन थालिएको बताइएको छ। प्रशासन स्रोतका अनुसार २०७३ देखि २०७६ सम्ममा १६ विदेशीलाई नागरिकता दिइएको छ।
उनीहरुलाई नागरिकता दिँदा खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ। त्यसपछि अधिकृत ढुङ्गेलले नागरिकता जारी गरेको बताइएको छ।
यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा नौ जनाको बाबु एउटै कायम गरिएको छ। गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जिम्मेवारी दिएको छ।
विदेशीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ। नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको पाइएको हो। टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन्। उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ।
यसैगरी, गैरकानूनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन्। गृह स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय, झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको छ। यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ।
यसअघि २०७३ माघ १० गते तीन जनालाई गैरकानूनी रूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ।
२०७३ मा गैरकानूनी रूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथि समेत छानविन थालिएको छ भने तत्कालीन शरणामती गाविसका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानविनको घेरामा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। (रासस)











-1784808429.png)