Kathmandu Press

इसाई या मसीही धर्म के हो ?

यशुका अनुसार धर्म सरल र बन्धुत्व कायम गर्ने खालको हुनुपर्छ।
इसाई या मसीही धर्म के हो ?

काठमाडाैं, पुस १० : इसाई वा मसीही धर्म कुनै रहस्यमय दैवी कारणबाट नभई एक ऐतिहासिक घटनाबाट उत्पत्ति भएको थियो। आजभन्दा २०१५ वर्षअगाडि जिसस क्राइस्टको जन्म हालको इजरायलको नासरित प्राप्तको वेथलहेममा भएको थियो। इसाई धर्मको ग्रन्थलाई पवित्र बाइबल भनिन्छ। बाइबल पनि पुरानो करार र नयाँ करारका रूपमा रहेको देखिन्छ। पुरानो करारमा जिसस क्राइस्ट (प्रभु यशु) संसारमा आउँदै हुनुहुन्छ भनिएको छ भने नयाँ करारमा प्रभु यशु संसारमा पदार्पण गरिसक्नुभयो भनिएको छ। 

आमा मरियमबाट यशु जन्मेपछि कुनै धर्मशालामा पनि राख्न नदिएकाले उनलाई गाई गोठमा राखेर हुर्काएको कथन छ। जिसस क्राइस्ट गरिबीमा हुर्किए। १४ वर्षको उमेरमा घरबाट भागेर व्यापारीसाथ भारत प्रवेश गरे। त्यसपछि नेपाल र ल्हासाको समेत भ्रमण गरी वैदिक धर्म र बुद्ध धर्मको शिक्षा लिई घर फर्किए भन्ने एकथरीको मत छ। यशुका अनुसार धर्म सरल र बन्धुत्व कायम गर्ने खालको हुनुपर्छ। त्यतिखेर इजरायलतिर यहुदीको दबदबा थियो। यहुदीको प्रख्यात मन्दिर ‘साइनाइज’का पुरोहितले आफ्नो धार्मिक प्रभाव कम हुने भयले क्राइस्टले विदेशी धर्म प्रचार गरिरहेको हुँदा क्रसमा किला ठोकी मार्नुपर्छ भनी गर्भनर प्लाटिनसलाई उक्साए। गर्भनरले त्यसै गरी ३३ वर्षीय क्राइस्टलाई क्रसमा किला ठोकेर हत्या गराए।

क्राइस्टको साथमा कुनै धन थिएन। उनले कुनै विद्यालय महाविद्यालयमा पढेका थिएनन्। उनीसँग कुनै सेना थिएन। उनले कुनै पुस्तक रचेनन्। तर, प्रसिद्धिको शिखरमा चढिरहे। नयाँ करारमा यशु मसीह विलक्षण पुरुष थिए, उनीमा अन्धोमा आँखा दिने, पङ्गुलाई चल्ने शक्ति दिने, महारोगीलाई समेत निको पार्ने जादुगरी, वैद्य र चमत्कारी क्षमता थियो भनिएको छ।

Hardik ivf

बाइबलको प्रथम अध्यायमा सृष्टिको सुरुवात र अन्तिम अध्यायमा संसारको अन्त्य हुने तरिका उल्लेख गरिएको छ। पहिलो अध्यायमा परमेश्वरले सम्पूर्ण कुरा आफ्नै हातले सृष्टि गर्नुभयो भनिएको छ। पहिले जगत् निराकार तथा शून्य र गाढा अन्धकारयुक्त थियो। ईश्वरको आत्मा पानीमाथि तैरिरहेको थियो। ईश्वरले प्रकाश बन्ने आदेश दिएपछि प्रकाश बन्यो। प्रकाशलाई नै ईश्वरले दिनरात बनाए। ईश्वरले स्वर्ग पनि बनाए। स्वर्गको मुन्तिर पानीलाई एक ठाउँमा जम्मा गरे। बाँकी सुक्खा भाग पृथ्वी बनाए। परमेश्वरले पृथ्वीमा घाँस उमारे, रूख बिरुवा उमारे। पानीमा जीव र आकाशमा चराको पनि सृष्टि गरे।

जमिनमा बस्ने प्राणी सृष्टि गरे। अन्तिममा आपूmजस्तै स्वरूपमा मान्छे बनाए र महिला एवं पुरुषको सृष्टि गरे। ती प्रथम पुरुष र महिलाको नाम आदम र हब्बा (इभ) थियो। परमेश्वरले संसारको पालन, हेरचाह, शासन र विकास गर्ने सबै अधिकार मान्छेलाई दिनुभयो। परमेश्वरले एउटा बगैँचा पनि बनाउनुभयो। र त्यसमा अनेक किसिमका फलपूmल सृष्टि गर्नुभयो। त्यसबीचमा एउटा छुट्टै प्रकारको फलवृक्षको पनि सृष्टि गर्नुभयो। परमेश्वरले बगैँचामा रहेका सबै फलफूल खानु तर बगैँचा माझको रूखमा फलेको फल नखानु, खाए मर्नेछौँ, तर खाने नखाने स्वतन्त्रता तिमीमा छ भन्नुभयो।

एक सैतानको बहकाउमा परेर एक दिन आदम र हब्बाले त्योबीचको रूखको पनि फल खाए। त्यसपछि उनीहरू पापी बनेर जन्म मरणमा फसे। परमेश्वरको आज्ञापालना नगरेकाले मान्छे नर्क जानुपर्ने भयो। मान्छेले पापबाट मुक्ति पाउन गर्ने प्रयास धर्म हो। पापको बन्धनबाट मान्छे मुक्त हुन नसकेपछि पिता परमेश्वर र पुत्र परमेश्वरले मुक्त गर्न यशुको जन्म दिनलाई क्रिसमसको रूपमा मनाउन थालियो। परमेश्वरले यशु ख्रिष्टलाई संसारमा पठाउनुभयो।

यशुले संसारका सबै मानिसको पाप आफैँले ग्रहण गरेर क्रसमा मर्नुभयो। उहाँ मरेको तेस्रो दिनमा मृत्युलाई जितेर स्वर्ग जानुभयो। उहाँका शिष्यले यस संसारमा यशुको नयाँ धर्म प्रचार गरे, जसलाई ‘इसाई धर्म’ भनियो। एक दिन यो सबै संसार फेरि नाश हुन्छ भन्ने कुरा पनि बाइबलमा लेखिएको छ।

संसारमा अन्धकारमा रहेका मान्छेलाई यशु क्राइस्टले तीन आज्ञा दिनुभयो भनी बाइबलमा लेखिएको छ। तिनीहरू (१) तिमीले परमेश्वरलाई सारा मन, शक्ति र प्राणले विश्वास र प्रेम गर (२) आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर (३) तिमीहरू आपसमा प्रेम गर। यशुले मानवबीच ‘प्रेम’को अगाधता प्रस्ट्याउनुभयो (युहन्ना ३ः१६ र मति २२ ः ३७, ३८, ३९)। मानव जातिलाई अनन्तसम्म पु¥याउन प्रभु आउनुभयो। ‘हे थाकेकाहरू, मकहाँ आउनु तिमीलाई विश्राम दिन्छु (भर्कुस ११ः२८) यशुमा विश्वास गर्नु जीवनमा परिवर्तन हुनु हो (दोस्रो कोरेन्थी ५ः१७)।

बाइबलको उक्त कथामा संसारको सृष्टि परमेश्वरले गरे भन्ने छ तर त्यसअघि नै पानी अस्तित्वमा रहिसकेको पनि प्रस्ट देखिन्छ। यसले परमेश्वरभन्दा अघि नै प्रकृति थियो भन्ने बुझिन्छ।

इसाई धर्ममा जातिपातीको भेदभाव मानिँदैन। कर्मकाण्डलाई स्थान दिइएको छ। वपतिस्मा र युखारिस्त गरी दुई किसिमका अनुष्ठान गर्ने चलन छ। युखारिस्तको अनुष्ठानमा धार्मिक मानिसले रक्सी, रोटी र मासु ग्रहण गर्दछन्। युखारिस्त अनुष्ठानपछि बपतिस्मा अनुष्ठान सुरु गरियो। यस अनुसार नुहाइएको शुद्ध शरीरले दीक्षा लिनुपर्ने व्यवस्था छ। १३औँ शताब्दीपछि त अरु अनुष्ठानहरू पनि सुरु गरिएका छन्।

२०औं शताब्दीसम्म ‘ईसाई’ विश्वका सबैभन्दा धेरै मान्छेले मान्ने धर्म भयो। यद्यपि इसाई धर्म विस्तार गर्ने क्रममा विश्वभर अनेकौँ खिचातानी भने नभएका होइनन्। मठ, मन्दिर तथा गिर्जाघरहरूमा सरकारी हस्तक्षेप हुने र ईसाईको सम्पत्ति समेत राज्यले हस्तक्षेप गर्ने क्रमले बढावा पाएपछि त्यसविरुद्ध सर्वसाधारण उर्लेको परिणाम स्वरूप धर्मलाई राजनीतिले नछुने सहमति स्वरूप ‘धर्म निरपेक्ष’ को स्थापना भएको पाइन्छ। पछि इसाई धर्मका अनुयायीबीच पनि केही मतभेद उत्पन्न भयो। परिणामस्वरूप ईसाईमध्ये पनि पश्चिमी रोमनेलीहरू क्याथोलिक सम्प्रदाय र पूर्वीय युनानीहरू अर्थोडक्स सम्प्रदायमा विभाजित भए। क्याथोलिकहरू पितारूपी परमेश्वर र पुत्ररूपी परमेश्वर दुवैबाट पवित्र आत्मा सृष्टि भएको मान्छन् भने अर्थोडक्स अर्थात् कट्टरपन्थीहरू पितारूपी परमेश्वरबाट मात्र पवित्र आत्माको उत्पत्ति भएको मान्छन्।

क्याथोलिकहरू आस्था, क्राइस्टमाथि राखेपछि अरू कुरामा मान्छे स्वतन्त्र रहन्छ भन्छन् तर अर्थोडक्सहरू मान्छेलाई पानीमा डुबाएपछि मात्र शुद्ध हुन्छ भन्ने मान्यता राख्छन्। क्याथोलिकहरूमा जलसेचन गराएर पवित्र गराइन्छ। क्याथोलिक मतमा मठाधीश, पादरीहरूले विवाह गर्न मिल्दैन तर अर्थोडक्स मतमा मठाधीशहरूले मात्र बिहे गर्न मिल्दैन।

सन् १५१७ पूर्व बाइबल अध्ययन गर्ने र त्यसको व्याख्या गर्ने अधिकार यहुदीको मात्र सीमित थियो। तर, सन् १५१७ मा मार्टिन लुथर किङले पवित्र र शुद्ध आत्मा भएको जोसुकैले पनि बाइबल अध्ययन गर्न पाउनुपर्छ भन्ने आन्दोलन गरे। अधिकांश इसाई जनमत त्यसैमा देखियो र त्यसै पक्षमा विजय हासिल भयो। बाइबल अध्ययनको यहुदी एकाधिपत्य विरुद्ध प्रतिवाद (प्रोटेस्ट) गरी विजय हासिल गरेकाले त्यस्तो नयाँ सम्प्रदायलाई प्रोटेस्टेन्ट भनिन थालियो।

मध्ययुगमा इसाई संघ र विज्ञानबीचमा ठूलो अन्तर्विरोध भएको पाइन्छ। विज्ञानवादीबाट धार्मिक भावनामा आँच आउन सक्छ भन्ने अभिप्रायले इसाई धार्मिक संघ संस्थाहरूबाट विभिन्न वैज्ञानिकलाई ठूला ठूला हस्तक्षेप र प्रहार भएको पनि पाइन्छ।

१३औँ शताब्दीमा दार्शनिक रोजरलाई कैयौँ वर्षसम्म मठमा थुनेर राखिएको, इटालीका वैज्ञानिक ज्योर्दानो ब्रुनो र लुचिलियो बानिनीलाई मृत्युदण्ड दिइनु, कोपर्निकसको सिद्धान्तलाई नै प्रतिबन्ध लगाइनु, महान् वैज्ञानिक ग्यालिलियोले सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरेकामा त्यो सिद्धान्तनै परित्याग गर्न बाध्य पारिएको, सन् १५५९ देखि विज्ञान र दार्शनिक पुस्तकहरूमाथि प्रतिबन्ध लगाइएको, अनेकौँ अर्थशास्त्रीलाई नवसिद्धान्त प्रतिपादन गर्न प्रतिबन्ध लगाइएको जस्ता उदाहरणले त्यतिखेर धर्मको नाममा नयाँ र सिर्जनात्मक विचारमाथि आक्रमण गरिएको प्रस्ट हुन्छ। समयको परिवर्तनसँगै धार्मिक शोषणको क्रम टिकिरहन सकेन।

इसाईधर्ममा ईश्वरलाई स्रष्टा एवं उद्धारक, प्रेमको स्वरूप, पिता ईश्वरले पठाएको पुत्र ईश्वर, ईश्वर सर्वोपरी र सर्वस्वामी र पवित्र आत्मा नै ईश्वर आदि रूपमा ग्रहण गरिएको छ। यस प्रकार यो धर्मका अनुयायीले ईश्वरको सर्वोच्चतालाई प्रधान महत्व दिँदै आएको देखिन्छ।
 

प्रकाशित मिति: १६:१८ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्