धुलिखेलमा ४० वर्षमाथिका नागरिकको पिसाब परीक्षण गरिँदै

काभ्रेपलाञ्चोक, पुस १० : ‘स्वस्थ नगर’ अभियानअन्तर्गत धुलिखेल नगरपालिकाका ४० वर्ष नाघेका सबै नागरिकको पिसाब परीक्षण गरिने भएको छ। समुदायस्तरमा मधुमेह र मिर्गौलाको अवस्था तथा रोग पत्ता लगाउन निःशुल्क पिसाब परीक्षण गर्न लागिएको जनाइएको छ।
सङ्घीय सरकारले पनि गत असोजमा ४० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क पिसाब परीक्षण गर्ने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभरका सबै वडामा पुगेर उनीहरुको पिसाब जाँचिने जनाएको थियो।
केन्द्रीय सरकारको अभियानपूर्व नै धुलिखेल नगरले आफ्ना नागरिकको पिसाब परीक्षण गर्न लागेको हो। मिर्गौला रोगबाट बचाउनुपूर्व रोकथामका लागि नागरिकको पिसाब परीक्षण गर्न लागिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए।
यही पुस १५ गतदेखि अभियानकारुपमै प्रारम्भिक चरणका एक हजार २०० नागरिकको पिसाब परीक्षण गरिने नगर स्वास्थ्य शाखाप्रमुख सन्दिप केसीले जानकारी दिए। उनका अनुसार नगरद्वारा सञ्चालित स्वस्थ शहर कार्यक्रअन्तर्गत यहाँका ४० वर्ष उमेरमाथिका नागरिकको पिसाब निःशुल्करुपमा परीक्षण गर्न लागिएको हो। यसबाट समुदायस्तरमा रहेका नागरिकको मधुमेह र मिर्गौलाको अवस्था पत्ता लाग्ने जनाइएको छ।
केन्द्रीय सरकारले करिब तीन महिनाअघि नै उक्त निर्णय गरेको थियो। मन्त्रालयका अनुसार नेपालमा ४० वर्षमाथिको जनसङ्ख्या ६५ लाख ३७ हजार रहेको छ।
मिर्गौला रोगबाट बचाउनुपूर्व रोकथामका लागि गर्न लागिएको पिसाब परीक्षणका लागि प्रतिव्यक्ति रु. ५० का दरले रु. ३२ करोड ६८ लाख ६६ हजार ४५० लाग्ने जनाइएको छ। बेलैमा ध्यान दिए नसर्ने रोगबाट बच्ने र बचावटको उपाय सस्तो रहेकाले मिर्गौला रोगबाट जोगाउन पिसाब जाँचको तयारी भइरहेको मन्त्रालयले जनाएको हो।
नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको सो नगरपालिकाले स्वस्थ शहरका लागि गत साता सात प्रतिबद्धता जनाएको छ। सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच स्वस्थ शहर बनाउन यस्तो प्रतिबद्धता जनाइएको हो।
सातबुँदे प्रतिबद्धतामा सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडाँै विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ।












