ए डिभिजन लिगको हेभिवेट भीडन्त आज
काठमाडाैं, पुस १० : जारी सहिद स्मारक ए डिभिजन लिगमा अहिले छैठौं चरणका खेल चलिरहेका छन् । लिग छैठौं चरणसम्म आइपुग्दा दुई ठूला...
काठमाडाैं, पुस १० : जारी सहिद स्मारक ए डिभिजन लिगमा अहिले छैठौं चरणका खेल चलिरहेका छन् । लिग छैठौं चरणसम्म आइपुग्दा दुई ठूला क्लब डिफेन्डिङ च्याम्पियन मछिन्द्र र मनाङ मर्स्याङ्दी उपाधि होडमा बलियो देखिएका छन्।
उपाधि होडमा रहेका दुवै टिमबीच आज हेभिवेट भीडन्त हुँदैछ। यो भीडन्त दुवै टिमका लागि निकै महत्वपूर्ण छ– उपाधि होड बलियो बनाउन र एएफसी कप छनोट खेल्न । त्यसैले दुई हेभिवेट क्लबबीचको यो महाभीडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
र, दर्शकका लागि पनि याे खेल निकै रोमाञ्चक हुनेछ। मनाङ र मछिन्द्रबीचको खेल ४:४५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
सर्वाधिक सफल टिम मनाङ जारी लिगमा पनि शीर्ष स्थानमा छ भने मछिन्द्र उसलाई पछ्याइरहेको छ। पाचौं चरणको समाप्तिमा दुवै टिम अपराजित छन् । मनाङले १३ अंक जोड्दा मछिन्द्रले ११ अंक जोडेको छ।
लिगको सातौं चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने भएकाले पनि यो खेल निकै महत्वपूर्ण छ। एएफसी कप छनोट खेल्ने आशा जिवितै राख्न मनाङालाई बराबरी नै पर्याप्त हुनेछ भने मछिन्द्रलाई यो खेल जित्नै पर्नेछ। मछिन्द्रविरुद्ध जित निकाले मनाङ एक खेल बाँकी छँदै एएफसी कप छनोटमा पुग्नेछ ।
मछिन्द्रविरुद्धको खेलअघि मनाङका प्रशिक्षक तोपे फुजाले विपक्षीका सम्मन गर्दै ३ अंकका लागि खेल्ने बताएका छन्। उनले दुवै टिम दबाबमा भएपनि खेल प्रतिस्पर्धात्मक र राम्रो हुने बताए । यता,मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बलियो मनाङविरुद्ध खेल्दा टिम दबाबमा हुने बताए । उनले एएफसी कप क्वालिफायर खेल्न जित्नैपर्ने दबाब रहेको र जितकै लागि खेल्ने बताए।











