सिन्धुलीको तीनपाटन गाउँपालिकामा तीनदिने निःशुल्क आँखा शिविर हुने

काठमाडौं, पुस ९ : सिन्धुलीको तीनपाटन गाउँपालिकाको केन्द्र लाम्पानटारमा तीनदिने आँखा शिविर हुने भएको छ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तीनपाटन गाउँपालिका तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको संयुक्त आयोजनामा यही पुस २७ देखि २९ गतेसम्म आँखा शिविर सञ्चालन हुने भएको हो।
त्यसअघि पुस २० देखि २८ गतेसम्म गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी तथा केन्द्रहरुमा एकएक दिने मोतीबिन्दु छनोट शिविर पनि राखिएको छ।
जसअनुसार पुस २० गते स्वास्थ्य चौकी भीमस्थान, २१ गते प्राथमिक स्वास्थ्य केन्द्र बेलघारी, २२ गते स्वास्थ्य चौकी बालाजोर, २३ गते स्वास्थ्य र्चाकी जरायोटार, २४ गते स्वास्थ्य चौकी आम्बोटे, २५ गते स्वास्थ्य चौकी बाहुन तिलपुङ र २६ देखि २८ गतेसम्म स्वास्थ्य चौकी लाम्पानटारमा मोतीबिन्दु छनोट शिविर हुने तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत हरिबहादुर कार्कीले जानकारी दिए।
शिविरमा मोतीबिन्दुलगायत आँखाका विभिन्न समस्याको निःशुल्क शल्यक्रिया गरिने पनि उनले जानकारी दिए। उनका अनुसार आँखाको समस्याअनुसार विभिन्न औषधि पनि निःशुल्क वितरण गरिनेछ।
वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको टोली जाने भएकाले आँखाका समस्या भएकाहरुले शिविरबाट लाभ लिन सक्ने उनले बताए। आँखाको समस्या भोगिरहेकाहरु कोही नछुटुन् भन्ने उद्देश्यले शिविरबारे सन्देश प्रवाहमा सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे।
आँखा जाँच, उपचार र शल्यक्रिया निःशुल्क हुने भए पनि शिविरमा आएकाहरूले खाने र बस्ने व्यवस्था भने स्वयंले गर्नुपर्ने बाह्य कार्यक्रम अधिकृत कार्कीले बताए।













