राष्ट्र बैंकले थाल्यो एटीएम ह्याकको अनुसन्धान
काठमाडौं, भदौ १५ : नेपाल राष्ट्र बैंकले एटीएम ह्याकको अनुसन्धान थालेको छ। आज बिहानै एक आन्तरिक समिति बनाएर अनुसन्धान थालेको जनाएको छ।
गए रात....
काठमाडौं, भदौ १५ : नेपाल राष्ट्र बैंकले एटीएम ह्याकको अनुसन्धान थालेको छ। आज बिहानै एक आन्तरिक समिति बनाएर अनुसन्धान थालेको जनाएको छ।
गए राति दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट नक्कली कार्ड प्रयोग गरेर पैसा निकाल्दै गर्दा पाँच जना चिनीयाँ नागरिक पक्राउ परेका थिए। एक जनालाई पक्राउ गरेपछि उनको समूहको थप चार जनालाई दरबारमार्गकै होटलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
उनीहरुमाथि अनुसन्धान थाल्दा एटीएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको खुलेको थियो। महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले भने, ‘उनीहरूले एटीएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएका थिए।’
प्रहरीका अनुसार, उनीहरूबाट एक करोड २६ लाख नेपाली रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, नौ हजारभन्दा बढी अमेरिकी डलर पनि बरामद गरिएको परिसरले जनाएको छ। त्यो समूह शुक्रबार मात्रै राजधानी आएको पाइएको छ।
त्यसपछि राष्ट्र बैंकले पनि अनुसन्धान सुरू गरेको हो। अनुसन्धान सुरू गरिएको बताउदै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यस विषयमा अनुसन्धान थालिसकेका छौं। साँझसम्म केही जानकारी आउनेछ।’
उनका अनुसार, अहिले एटीएम मेसिनको सफ्टवेयरमा मात्र ह्याकरले आक्रमण गरेका हुन्। बैंकको सिस्टममा भने खतरा नपुगेको उनले बताए। ‘अहिले नै आत्तिनु पर्ने अवस्था छैन, बैंकमा पैसा सुरक्षित छ। एटीएममा मात्रै उनीहरूले आक्रमण गरेका हुन,’ उनले भने।
आज साँझसम्म छानविन समितिले प्रारम्भीक जानकारी दिने जनाएको छ। यसमा राष्ट्र बैंकको रकम भुक्तानी विभागको टोलीले छानविन गरिरहेको जनाएको छ।
ह्याकर समूहले एटीएममा आक्रमण गरेपछि आज बिहान अधिकांश बैंकका एटीएम चलेका थिएनन्।
याे पनि पढ्नुस् :
नक्कली कार्डले एटीएमबाट पैसा निकाल्ने पाँच चिनीयाँ नागरिक पक्राउ






