भक्तपुरमा पनि डेङ्गु, स्वास्थ्यकर्मीसहित १२ बिरामी
भक्तपुर, भदौ १५ : काठमाडौं उपत्यकाभित्रकै भक्तपुरमा पनि डेङ्गु देखिएको छ। भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, डुङ्गुबाट १२ जना बिरामी भएका छन्....
भक्तपुर, भदौ १५ : काठमाडौं उपत्यकाभित्रकै भक्तपुरमा पनि डेङ्गु देखिएको छ। भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, डुङ्गुबाट १२ जना बिरामी भएका छन्।
डेङ्गुका बिरामी बढ्दै गएको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार गुणबढी डेङ्गु भेटिएको बताए।
भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो। अहिले दुई जनाको भक्तपुर अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.रविभूषण सुवालले बताए।
भक्तपुर अस्पतालमा डेङ्गुको सङ्क्रमण परीक्षण कीट रहेकाे छैन। 'यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको छ,' उनले भने।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको थियो। यस वर्ष १२ जनामा डेङ्गुकाे सङ्क्रमण देखिएकाे हाे।
डेङ्गुको सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको उनले बताए।
कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।






