राष्ट्रिय पुनःनिर्माण प्राधिकरण औपचारिक रुपमा हस्तान्तरण
काठमाडौँ, पुस ८ : नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।प्राधिकरणका कार्यभार, काम,...
काठमाडौँ, पुस ८ : नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।
प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै प्राधिकरण आजदेखि बहिर्गमन भएको हो। बहिर्गमन हुनुअघि प्राधिकरणले धरहरा, सिंहदरबार, रानीपोखरी, शान्तिबाटिका, हरिहर भवन तथा नारायणी सङ्ग्रहालय अन्तर्गतको रणेद्धिप दरबारसम्बन्धी कार्य तथा केन्द्रीय आयोजना कार्यान्यवन भवन भवन, नीति, आवास अनुदान व्यवस्थापनसँग सम्बन्धित कागजात र वेरुजु शहरी विकास तथा भवन निर्माण विभागमा हस्तान्तरण गरेको थियो। गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई उक्त फाइल हस्तान्तरण गरे।
प्राधिकरणले पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बाँकी रहेका काम, कानूनी तथा नीतिगत व्यवस्था, पुनरावेदन समितिबाट प्राप्त हुने फैसला र आदेशको कार्यान्वयन तथा समन्वय सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ। यस्तै विश्व बैंकसँग सम्बन्धित प्राविधिक सहयोग सोध भर्ना, परियोजना एकाउण्ट र प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायबाट सम्पादन भइरहेका पुनःनिर्माण तथा पुनस्थापनका कार्य, प्राधिकरणअन्तर्गत चालु र पुँजीगत खर्चका आव २०७८/७९ को एकीकृत आर्थिक विवरण तयार पार्ने, लेखा परीक्षण तथा बेरुजु फस्र्यौटसम्बन्धी कार्य पनि विपद् व्यवस्थापन प्राधिकरणलाई नै हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कर्याकारी अधिकृत सुशील ज्ञवालीले विपद् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई फाइल हस्तान्तरण गरी औपचारिक रुपमा प्राधिकरणका कार्यभार सुम्पिएका थिए। विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि त्यसको पुनःनिर्माण र पुनःस्थापनका लागि प्राधिकरण स्थापना भएको थियाे। पाँच वर्षको कार्यावधी रहे पनि जिम्मेवारी पूरा नभएकाले नेपाल सरकारले एक वर्षको समयावधी थपेको थियो। उक्त थपिएको समय यही पुस १० गते ६ वर्ष पूरा हुँदैछ। पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवालीले चुनौतीपूर्ण समयमा सरकारले विश्वास गरेर दिएको जिम्मेवारी आमनेपाली जनसमुदायको सहयोगमा सम्पन्न गर्न सफल भएको दाबी गरे।
'पुनःनिर्माण काम सम्पन्न गर्यौ भनेर अन्तर्राष्ट्रिय समुदायका बीच छलफल गर्यौँ, सिकेको अनुभवबाट अबको बाटो के हुनसक्छ भनेर संस्लेषण गर्यौँ,' उनले भने। बुधबार मात्रै निर्देशक समितिको बीचमा छलफल गरेर नेपालको पुनःनिर्माण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालिएको उनले जानकारी दिए।
यो अनुभव र जगमा उभिएर आगामी सन् २०३० सम्ममा विपद् उत्थानशिल मुलुकको रुपमा किकास गरेर जानुपर्छ भन्ने सोच अघि बढेको उनले बताए। उनले दिगो विकासका लागि सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित गर्नेपर्ने आधार यो पुनःनिर्माणको कामले निष्कर्ष निकालेको पनि बताए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले पुनःनिर्माण प्राधिकरणको अभिभारा विपद् प्राधिकरणमा आएको र ६ वर्षको अनुभवबाट भूकम्प, बाढीपहिरो, आगलागी जस्ता विपद्जन्य घटनाबाट मुलुकलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेमा नै ध्यान केन्द्रित हुने बताए। यसअघि पुनःनिर्माण प्राधिकरणले गएको असोज १ गते पनि कतिपय कार्यभार तत्तत् निकायलाई हस्तान्तरण गरिसकेको थियो। प्राधिकरणका अनुसार हालसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्विक क्षेत्रमा ८५ प्रतिशत, सरकारी भवन ९२ प्रतिशत सम्पन्न भएको छ। शैक्षिक भवन ८५, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ। सुरक्षा निकायका भवन शतप्रतिशत सम्पन्न गरिएको छ।
पुनःनिर्माणमा महत्वपूर्ण कार्य सम्पादन : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पबाट क्षति भएका संरचना पुनःनिमाणमा महत्वपूर्ण कार्य सम्पादन गरेको बताएका छन। सिंहदरबारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन समारोहमा मन्त्री खाँणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञसमेत अनुसन्धान गर्न योग्य काम गरेको बताए।
उनले भुकम्पले क्षति पुर्याएका भौतिक संरचना पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले मन लगाएर पूरा गरेकोमा प्रशंशा गर्र्दै धन्यवाद दिए। उनले भने, 'पुनःनिर्माणको तथ्याङ्क र कार्य विश्वभरका अनुसन्धानकर्तालाई अनुसन्धान गर्न काम लाग्ने खालको छ।' उनले मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अब पुनःनिर्माण प्राधिकरणले गरेका कामको प्राविधिक र प्रशासनिक काम र सुरु भएर सम्पन्न हुन नसकेका कार्यको पनि परामर्श गरेर टुङ्ग्याउने बताए।
पुनःनिर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर प्राधिकरण अघि बढ्ने उनको भनाइ थियो। 'पुनःनिर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर सदुपयोग गर्दै कसरी अगाडि बढ्ने भन्ने जिम्मेवारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको काधमा आएको छ,' गृहमन्त्री खाँणले भने, 'प्राविधिक र प्रशासनिक काम मात्रै होइन, सुरु भएका राम्रा कामलाई पनि निरन्तरता दिनुहोला।'












