Kathmandu Press

त्रिवि उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, पुस ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा स्थगित गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।त्रिवि सेवा...
त्रिवि उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, पुस ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा स्थगित गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षाका लगि दरखास्त दिएका रमेश विष्ट र मनिता खत्रीले आज (बिहीबार) लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। यो रिटमा पुस १२ गतेका लागि पेसी पनि तोकिसकिएको छ।

त्रिवि सेवा आयोगले गत साउन १८ गते नै लिखित परीक्षा सञ्चालन गर्नुपथ्र्यो। अहिले करारमा रहेका शिक्षकलाई स्थायी गर्ने प्रक्रिया अघि बढाएको र आफूहरुलाई प्रतिस्पर्धाबाटै वञ्चित गर्न खोजेको उनीहरूले बताएका छन्।

गत मंसिर १४ गते बसेको त्रिवि सभाले ‘शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम–२०५०’ संशोधन गरी स्थायी, अस्थायी वा करार सेवामा १० वर्षदेखि निरन्तर सेवारतले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेकोप्रति विरोध जनाउँदै त्यसबाट प्रतिस्पर्धी जनशक्ति नआउने र प्रतिस्पर्धा गर्न पाउने हक पनि हनन हुन जाने रिटमा उल्लेख छ। उक्त संशोधनलाई खारेज गर्न पनि रिटमा माग गरिएको छ।

‘‘उक्त व्यवस्थाले आन्तरिक खुला प्रतियोगितामा त्रिविले करार तथा आंशिकमा रहेका शिक्षक तथा कर्मचारीलाई मात्र समावेश गर्ने प्रावधानले खुला प्रतियोगितामार्फत प्रतिस्पर्धा गरी उपप्राध्यापक पदमा सेवा गर्न इच्छुक हामी निवेदकहरुका साथै अन्य योग्य उम्मेदवारहरुके अधिकार कुण्ठित गर्ने कार्य भएको छ,’ रिटमा भनिएको छ ।

योग्य र दक्ष परीक्षार्थीलाई खुला प्रतिस्पर्धाबाट छनोट हुने अवसर दिने गरी नियम बनाउन त्रिविको नाममा परमादेशको आदेश जारी गर्न उनीहरुले माग गरेका छन्।

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्