कांग्रेस समृद्ध नेपाल निर्माणका अभियानमा लाग्नेछ : नेता बस्नेत
काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजंग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन्।नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका बस्नेतको...
काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजंग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन्।
नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका बस्नेतको सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनले पार्टीको भविष्य उज्ज्वल बनाएको बताए।
‘कांग्रेस तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,’ उनले भने। कांग्रेसलाई आगामी दिनमा ठूलो पार्टी बनाइने उनको भनाइ थियो।
आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने बस्नेतले बताए। पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारी र निष्ठाको बाटोमा हिँडे मात्र कांग्रेस बलियो बन्ने उनले उल्लेख गरे।
तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा त्यसलाई बलियो बनाउन आवश्यक भएको बस्नेतले बताए। नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले अध्यक्ष बस्नेतको जित देशभरिका तरुणको जित भएको बताए।












