Kathmandu Press

भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

झापा, पुस ८ : ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने  नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर...
भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

झापा, पुस ८ : ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने  नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका हुन्। सांस्कृतिक प्रस्तुतिका साथ आयोजित समारोहमा प्रमुख अतिथि घिमिरेले बालबालिकाको सर्वांगीण विकासबिना समृद्ध राष्टको कल्पना गर्न नसकिने जनाउँदै भद्रपुर नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गरे।

Hardik ivf

कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफूहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै भद्रपुरमा बालमैत्री अभियान सुरु गरेको र अभियानले पाएको सार्थकतापछि अहिले देशभरिका स्थानीय तहहरुका लागि सिकाइको थलो बनेको उल्लेख गरे। सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई सम्मान गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो । 

बालमैत्री गीतका रचनाकार सत्य राजवंशी, सङ्गीतकार हरि पौडेल, बालमैत्री बानी व्यवहार प्रदर्शन गर्ने शिक्षकका रुपमा वीरेन्द्र माविका शिक्षक गङ्गा घिमिरे, पूर्वशिक्षक कैलाश राईलगायत भद्रपुरको बालमैत्री अभियानमा सक्रिय साथ सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान गरिएको थियो । दिवसकै सन्दर्भ पारेर एक सातासम्म सञ्चालन गरिएका विभिन्न विधाका प्रतियोगिताका विजयी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

सोही  अवसरमा छ विपन्न विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । समारोहमा प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं, बालमैत्री अभियानकर्मी सुमन ढकाल, इटहरी नगर बाल सञ्जालका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखे।

प्रकाशित मिति: १०:०७ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्