Kathmandu Press

३८ हजार बालबालिकालाई विद्यालयमै खोप

३८ हजार बालबालिकालाई विद्यालयमै खोप

तनहुँ, पुस ७ : बाह्र वर्षदेखि माथिका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमा कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ। सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै आजदेखि खोप दिन सुरु गरिएको हो।

उक्त उमेर समूहका ३७ हजार २५ र अन्य एक हजार ३३९ गरी ३८ हजार ३७४ बालबालिकालाई बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए। जिल्लाको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा बुधबार र बाँकी पालिकामा बिहीबार र शुक्रबारदेखि खोप लगाउन व्यवस्था मिलाइएको उनले बताए।   

Hardik ivf

जिल्लाका १० वटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने अभियानअनुसार पहिलो दिन दुई पालिकाले खोप लगाउन सुरु गरेका छन्। बालबालिकाको खोप अभियानको निम्ति सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिसकिएको छ। व्यास नगरपालिकामा १० हजार २४३ विद्यार्थी र अन्य ५०० गरी १० हजार ७४३ जनालाई खोप लगाइने छ।

भानु नगरपालिकामा चार हजार ७१३ विद्यार्थी र अन्य ३१० गरी पाँच हजार २३ जनाले खोप लगाउने कार्य सुरु गरिएको छ। त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा सात हजार २०० विद्यार्थी, अन्य ३०० गरी सात हजार ५०० बालबालिकालाई खोप लगाइने भएको छ। भिमाद नगरपालिकामा तीन हजार १५ विद्यार्थीलाई खोप लगाइने भएको छ। म्याग्दे गाउँपालिकामा एक हजार ५०६ विद्यार्थीलाई, घिरिङ गाउँपालिका एक हजार ५७० विद्यार्थी र अन्य ४५ गरी  एक हजार ६१५, ऋषिङ गाउँपालिकामा विद्यार्थी दुई हजार २०६ र अन्य ९४ गरी दुई हजार ३०० जनालाई लगाइने छ।

देवघाट गाउँपालिकामा एक हजार ५५४ विद्यार्थीलाई, बन्दीपुर गाउँपालिकामा एक हजार ९५७ बालबालिका र आँबुखैरेनी गाउँपालिकामा विद्यार्थी तीन हजार ६१ र अन्य १०० गरी तीन हजार १६१ जनालाई खोप लगाइने भएको छ। खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ। मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ।

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्