मकवानपुरमा ई-पासपोर्टको दर्ता सुरु

हेटाैंडा, पुस ७ : जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई-पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ। ई-पासपोर्टका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौंबाहिर पहिलोपटक मकवानपुरमा यो सेवा सुरु भएको हो। यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ। सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई-पासपोर्ट उपलब्ध गराउने छन्। ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन्।












