ललिता निवास प्रकरण : बिचौलिया रहेका सुवेदी दम्पती पक्राउ
काठमाडौं, पुस ७ : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा बिचौलिया ठहरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय...
काठमाडौं, पुस ७ : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा बिचौलिया ठहरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई मंगलबार राति स्वयम्भूबाट पक्राउ गरेको हो। उनीहरू अहिले सिआइबीको नियन्त्रणमा छन्।
तत्कालीन भोगाधिकारी सुवर्णशम्शेरको परिवारका नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदीले बिचौलिया भूमिका खेलेको सिआइबीको अनुसन्धानबाट खुलेको छ।
२०४९ सालयता विभिन्न चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भएको थियो। त्यसपछि सुवेदी दम्पती फरार भएका थिए।
सोही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध बिगो कैदसहित हडपिएको जग्गा फिर्ताको मागदाबीसहित विषेश अदातलमा मुद्दा दायर गरेको थियो।
उनीहरू पक्राउ परेसँगै सिआइबीले ललिता निवास प्रकरणको किर्ते मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ।
पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो।












