Kathmandu Press

बैतडीमा बालबालिकालाई मोडर्ना खोप दिन सुरु

बैतडी, पुस ७ : बैतडीमा मङ्गलबारदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ ।सरकारले देशका विभिन्न जिल्लामा...
बैतडीमा बालबालिकालाई मोडर्ना खोप दिन सुरु
फाइल तस्बिर

बैतडी, पुस ७ : बैतडीमा मङ्गलबारदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सुरु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।

Hardik ivf

करिब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सुरु भएको अभियान पुस ११ गते सम्पन्न हुनेछ । मङ्गलबारदेखि  जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा खोप दिन थालिएको हो । यी तीन स्थानीय तहमा पुस ८ गतेसम्म  अभियान सञ्चालन हुनेछ ।  

दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा आज पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।  
    
बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२   बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो। जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बैतडीमा हालसम्म ७५ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै  खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ।  

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्