गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्रलाई सकस
बागलुङ, पुस ७ : नेकपा (माओवादी केन्द्र)ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुंगो लगाउन सकेको छैन । गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा...
बागलुङ, पुस ७ : नेकपा (माओवादी केन्द्र)ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुंगो लगाउन सकेको छैन । गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।
अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णित बनेको हो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त पार्टी जान सकेको छ । त्यही कारण नेतृत्वप्रति गलकोटका नेता, कार्यकर्ता असन्तुष्ट छन् ।
नेतृत्वमा सहमति नभए प्रक्रियामा लैजानुपर्ने माग उठ्न थालेको छ । माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा तत्काल सहमति जुट्न नसकेको बताए।
उनका अनुसार अधिवेशनले ६५ सदस्यीय नगर समिति भने सर्वसम्मत् निर्वाचित गरिसकेको छ । सोही समितिले पदाधिकारी चुन्ने विधानत व्यवस्था छ । समितिले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी चुन्नेछ । ‘नेताको कार्यव्यस्तता, प्रदेश अधिवेशनको तयारीलगायत कारणले केही ढिलो हुनपुग्यो अब राष्ट्रिय सम्मेलनलगत्तै एउटा निर्णयमा पुग्छौं,’ संयोजक गैरेले भने।
उनले सहमतिमै नेतृत्व टुङ्गो लाग्ने दाबी गरे। पार्टीको नगर अध्यक्षमा हालका अध्यक्ष ललित श्रीस, तिलक उप्रेती, गङ्गा भुजेल, चन्द्रदत्त रेग्मी, राज थापा र चन्द्रबहादुर थापा ‘शिखर’ आकाङ्क्षी छन्। सबै पार्टीको जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । अध्यक्षका दाबेदार उप्रेतीले सहमतिमै पदाधिकारी चुनिने विश्वास व्यक्त गरे।
‘अन्तिमसम्म सहमतिकै प्रयास हुन्छ नत्र निर्वाचनको विकल्प त छँदै छ’, उनले भने, ‘पार्टी केन्द्रको पनि सहमतिमै जोड छ, राष्ट्रिय सम्मेलनपछि हामी बसेर टुङ्गाउँछौँ।’ उप्रेती यसअघि पनि नगर अध्यक्ष भइसकेका नेता हुन् । जतिसक्दो चाँडो पदाधिकारी चयन गरेर पार्टीका कामलाई गति नदिने हो भने कार्यकर्ता तहमा निराशा छाउने उप्रेतीको भनाइ छ ।
नेतृत्वको दाबी गरिरहेका सबैजना पार्टीमा लामो पृष्ठभूमि भएका र योगदान गरेका व्यक्ति हुन् । जनयुद्धदेखि शान्ति कालका पछिल्ला दिनसम्म सबै पार्टीका जिम्मेवारीमा क्रियाशील छन् । पदाधिकारी सर्वसम्मत चुन्ने प्रयास असफल भएपछि महिनौसम्म अधिवेशन स्थगित हुनुलाई कार्यकर्ताले नेतृत्वको असफलताको रुपमा लिएका छन् । स्थानीय माओवादी कार्यकर्ता राजेन्द्र श्रेष्ठले गुटगत राजनीति, व्यक्तिगत स्वार्थ र एकाअर्कालाई सम्मान नगर्ने प्रवृत्तिका कारण समस्या निम्तिएको बताए।
गलकोट जिल्लामा तुलनात्मक रुपमा कम्युनिष्ट जनमत बढी भएको क्षेत्र हो । अघिल्लो चुनावमा प्राप्त मतका आधारमा हेर्दा त्यहाँ नेपाली कांग्रेसपछि दोस्रो ठूलो दलका रुपमा माओवादी केन्द्र क्रियाशील छ । त्यसपछि अन्य वाम दल छन् । गत स्थानीय चुनावमा माओवादी केन्द्रले त्यहाँका दुई वडा मात्र जित्न सफल भएको थियो । सही नेतृत्वको छनोटसँगै सङ्गठनको रुपान्तरण र सुदृढीकरण नगरे गलकोटमा पार्टी कमजार हुँदै जाने चिन्ता कार्यकर्ता तथा शुभेच्छुकमा छ । जिल्लाका अन्य नौ स्थानीय तहमा भने यसअघि नै अधिवेशनबाट नयाँ नेतृत्व आएको छ ।
टोल समितिका भेला, वडा, पालिकाहुँदै प्रदेश तहका अधिवेशन सकेर माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा होमिएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ।












