Kathmandu Press

केन्द्रले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नखोज्नु गलत : दिनानाथ शर्मा

काठमाडौं, भदौ १४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाइमा संविधान जारी....

केन्द्रले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नखोज्नु गलत : दिनानाथ शर्मा

काठमाडौं, भदौ १४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाइमा संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा उनले भने,‘संघीयताबारेमा हामीहरुबीच एकरुपता भएको छैन।’ नेता शर्माले अझैपनि शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे। उनले भने,‘अहिलेपनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्। संघीयता कार्यान्वयन गर्नेतर्फ कानून तथा विद्येयकहरु पेश भएका छैनन्।’ 

उनले संविधान र मुलुकको व्यवस्था नयाँ भएपनि काम गर्ने शैली पुरानै भएको, ऐन, कानून र विद्येयकहरु नयाँ आउन नसकेको टिप्पणी गरे। 

उनले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको पनि आरोप लगाए। उनले भने,‘संघका मन्त्रीहरुले तल अधिकार दिन अहिले हिचकिचाउने काम गर्नुभएको छ। तल अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन। अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नुहुँदैन। यसरी कसरी देश समृद्ध हुन्छ?’

उनले आफूहरुले संघीयता विरोधी विधेयकहरु नल्याउनका लागि संघका मन्त्रीहरुलाई निर्देशन दिएको बताए। उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको बताए।
 

प्रकाशित मिति: १५:३४ बजे, शनिबार, भदौ १४, २०७६