Kathmandu Press

नाम र राजधानीबारे सहमति जुटाउन लोसपाद्वारा वार्ता टोली गठन

जनकपुर, पुस ७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न...
नाम र राजधानीबारे सहमति जुटाउन लोसपाद्वारा वार्ता टोली गठन

जनकपुर, पुस ७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न समिति गठन गरेको छ।

लोसपा प्रदेश २ संसदीय दलले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्न प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको हो। जनता समाजवादी पार्टीले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन लोसपाले पनि वार्ता समिति गठन गरेको हो।

Hardik ivf

लोसपाको वार्ता टोली सदस्यमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरी छन्। पार्टीको निर्णयबमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतिका लागि वार्ता टोली गठन गरेको लोसपा प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए।

यही पुस ८ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रस्तुत हुने तयारी भइरहेका बेला प्रदेश सरकारको नेतृत्वकर्ता दल जसपा र लोसपाले दलीय सहमति जुटाउने कसरत सुरु गरेका छन्। जसपाका प्रदेशसभा सदस्यले आजै सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेतालाई भेटेर सहमतिको प्रस्ताव गरेको जसपाका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले जानकारी दिए।।

जसपाले पनि प्रदेशको नाम मधेश र राजधानी जनकपुर राख्ने प्रस्ताव गरेको छ। सोही प्रस्तावमा दलीय सहमति जुटाउन पहिलो चरणमा सत्तारुढ दलका नेता तथा प्रदेशसभा सदस्यलाई भेटेर सहमतिको लागि छलफल अघि बढाएको सुमनले बताए। (रासस)

प्रकाशित मिति: ०७:२३ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्