प्रधानमन्त्री महिला कप क्रिकेट : प्रदेश १ समूह विजेता

सुदूरपिश्चम, पुस ६ : कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला कप क्रिकेटअन्तर्गत आज भएको खेलमा प्रदेश नं १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। जितसँगै प्रदेश १ समूह ‘ए’ को विजेता बनेको छ।
पहिला ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११४ रन बनायो। एक सय १५ रनको विजयी लक्ष्य पछ्याएकाे लुम्बिनी प्रदेशले नौ विकेटको क्ष्यतिमा मात्र ४७ रन बनाउन सक्यो। प्रदेश–१ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन्। यस्तै काजोल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले १५ रन बनाइन्। दोस्रो विकेटका लागि श्रेष्ठ र वेगमले ६२ रनको साझेदारी गरेका थिए। बलिङतर्फ लुम्बिनीका नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक/एक विकेट लिइन्।
एक सय १५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्। सरस्वती पुन र नितु भण्डारीले नौ नौ रन बनाइन्। लुम्बिनीका तीन खेलाडी शून्यमा पवेलियन फर्किए भने तीन खेलाडी रन आउट हुन पुगेका थिए। बलिङतर्फ प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। यस्तै अलिशा खाडियाले दुई र सङ्गिता राईले एक विकेट लिइन्। प्रदेश–१ की कप्तान क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
धनगढीको फाप्ला मैदानमा आजै भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले पराजित गर्यो। बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो। बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रन तथा हेलिशा गुरुङले २५ र अस्मिना कर्माचार्यले १६ रन बनाइन्। पहिलो विकेटका लागि श्रेष्ठ र गुरुङबीच ७२ रनको साझेदारी भएको थियो। बलिङतर्फ कर्णालीका दिव्या धामीले तीन, एन्जिला क्षेत्रीले दुई र निशा पराजुलीले एक विकेट लिइन्।
एक सय ३१ रनको विजय लक्ष्य पछ््याएको कर्णाली १८ दशमलव तीन ओभरमा ५१ रनमै समेटियो। कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। दिपा रानाले नौ रन बनाइन्। बलिङतर्फ बागमतीका आरती विडारी र विपिशा शाहीले तीन/तीन तथा सोनी पाख्रिन, खुशी डङ्गोल र ज्ञानुका बस्नेतले एक/एक विकेट लिइन्। उक्त खेलमा बागमतीकी कञ्चन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।











