Kathmandu Press

अदालतको अवहेलना मुद्दामा पत्रकार दोषी

कर्णाली, पुस ६ : अदालतको अवहेलना गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ। पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी...
अदालतको अवहेलना मुद्दामा पत्रकार दोषी

कर्णाली, पुस ६ : अदालतको अवहेलना गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ। पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसुरमा पाँच महिना जेल सजाय तथा पाँच हजार रूपैयाँ जरिवाना तोकेको हो।

न्यायाधिश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार पत्रकार बुढामगरलाई उक्त सजायको फैसला गरेका थिए। अदालतले पीडितको पहिचान गोप्य राख्न सञ्चारमाध्यमलगायत सरोकारवाला निकायलाई जारी गरेको निर्देशनात्मक आदेशको उल्लङ्घन गरेको कसुरमा दाङबाट प्रकाशित राप्तीपश्चिम डटकमका प्रकाशक/सञ्चालक बुढामगरलाई जरिवानासहित कैद सजायको फैसला सुनाएको हो।  

Hardik ivf

सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदायका दुई युवतीमाथि बलात्कार भएको घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा पीडितको पहिचान खुलाइएको पाइएकाले अदालतले २०७८ जेठ २८ गते गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासङ्घका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। उक्त आदेशको उल्लङ्घन गरी प्रतिवादीका कानूनी व्यवसायीलाई धम्की दिएको भन्दै पत्रकार बुढामगरविरुद्ध गत असोज १९ गते अदालतमा मुद्दा दायर भएको थियो।

जिल्ला अदालत, सुर्खेतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले पीडित राउटे युवतीको पहिचानसहित अनलाइनमा समाचार लेख्नुका साथै सामाजिक सञ्जाल फेसबुकमा कानून व्यवसायीविरुद्ध धम्की दिएकाले प्रतिवादी पक्षले अदालतको अवहेलना शीर्षकमा दायर गरेको जानकारी दिए। श्रेस्तेदार पौडेलका अनुसार न्यायाधिश आचार्यकै इजलासले नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित/प्रशारित सामग्री हटाउन ध्यानाकर्षण गराउन, जिल्लास्थित पत्रकारको संगठनमार्फत यस्ता सामग्री प्रचार–प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराउन, युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायकी पीडित युवतीका सामग्री हटाउन सङ्घीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन निर्देशनात्मक आदेश जारी गरेको थियो।

गुर्भाकोट नगरपालिका–९, आपसोतीस्थित राउटे समुदायका दुई युवतीलाई स्थानीय चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनले होटलमा लिएर अश्लिल क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियोका आधारमा प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । 'संवेदनशील विषयमा समाचारलगायतका सामग्री प्रस्तुत गर्दा पीडितको सुरक्षा र पहिचानको विषयमा गम्भीर हुनुपर्नेमा सो नगरेको देखिएको, करणीजन्य अपराधका सामग्री गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय हो,' फैसलामा भनिएको छ, 'सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतासमेतलाई मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो।'

फैसला भएको २४ घण्टाभित्र शर्तसहित माफी मागेको खण्डमा कसुरदारले कैद सजाय भुक्तान गर्न नपर्ने उल्लेख छ। श्रेस्तेदार पौडेलका अनुसार फैसलामा जुनजुन सामाजिक सञ्जाल प्रयोग गरी कसुर गरेका हुन् तिनै सामाजिक सञ्जालमा क्षमायाचना प्रकाशित गर्नुपर्ने, प्रकाशित सामग्री ६ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनसट सात दिनभित्र पेश गर्नुपर्ने शर्त पूरा गरेपछि कैद मिनाहा गरिएको बताए। कैद मिनाहापछि पत्रकार बुढामगर हिरासतबाट मुक्त भएका छन्।

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्