Kathmandu Press

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

चितवन, पुस ६ : भरतपुर अस्पतालले मिर्गौलाको डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो ।

अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।  उनका अनुसार समितिले निर्णय गरेर थप तीन वटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए।

अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ । रजिस्ट्रेशन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ ।
 
अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए।

उनले दैनिक चार चरणमा ३५ देखि ४० बिरामीको डाइलासिस गराइरहेको जानकारी दिए। शनिबार दुई चरणमा डाइलासिस गराउँदै आएको उनको भनाइ छ ।
 
मिर्गौला डाइलासिस गराउनुपर्ने बिरामीले हप्तामा कम्तीमा एकपटक गराउनैपर्ने र बिरामीको अवस्था हेरी कसैकसैलाई दुईपटक गर्नुपर्ने उनको भनाइ छ । कतिपय बिरामीले निजी अस्पतालमा डाइलासिस गराइरहेका छन् । प्रा डा पौडेलले कतै पनि डाइलासिस गराउन नपाएका बिरामीलाई प्राथमिकता दिएर सेवा दिँदै आएको बताए। कतिपय बिरामीले भरतपुर अस्पतालमा नाम लेखाए पनि निजीमा डाइलासिस गराउँदै आएका छन्।
 
पौडेलका अनुसार अधिकांश डाइलासिसका बिरामीले भरतपुर अस्पतालमै सेवा लिन चाहन्छन् । यहाँ आउने सबै बिरामीलाई नियमित सेवा दिनका लागि ४० वटा मेसिन आवश्यक पर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्