बिहेका नाममा नेपाली युवतीको चीनमा तस्करी, चार चिनियाँसहित १० जना पक्राउ
काठमाडौं, भदौ १३ : विवाहको प्रलोभन देखाएर नेपाली युवतीको चीनमा तस्करी हुने गरेको रहस्य खुलेको छ।
प्रहरीको मानव बेचबिखनविरुद्धको ब....
काठमाडौं, भदौ १३ : विवाहको प्रलोभन देखाएर नेपाली युवतीको चीनमा तस्करी हुने गरेको रहस्य खुलेको छ।
प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले चार जना महिलाको उद्धार गरेपछि विवाहको प्रलोभनमा चीनमा मानव तस्करी हुने गरेको खुलेको हो।
प्रहरीले नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने चार चिनियाँ र ६ जना नेपाली गरी १० जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन्। यसैगरी, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ पनि पक्राउ परेको एसएसपी कार्कीले बताए।
नेपाली युवतीसँग कोर्ट म्यारिज गरेर चिनियाँ नागरिले चीन लाने गरेको देखिएको उनले बताए। पक्राउ परेका अभियुक्तहरुको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद गरिएको प्रहरीले जनाएको छ।
विवाहका लागि नेपाली युवती राजी भएपछि चीनमा रहेका दलालमार्फत चिनियाँ नागरिकहरु नेपाल आउने गरेको देखिएको एसएसपी कार्कीले बताए।
उनका अनुसार विवाहका लागि युवतीका परिवारलाई समेत विभिन्न प्रलोभनमा पारेर सहमति लिने, सम्भव भएसम्म हुनेवाला दुलाहासँग भेटघाट गराएर अदालतमा विवाह दर्ताका क्रममा साषीसमेत राख्ने गरेको पाइएको छ।
अदालतमा विवाद दर्ता भएपछि परिवारका सदस्यहरुकै उपस्थितिमा विमानस्थलसम्म पुर्याउने गरेको पनि खुल्न आएको उनले बताए।
एउटी युवतीलाई चिनियाँ नागरिकसँग विवाह गराएबापत चिनियाँ दलालले १० लाख रुपैयाँसम्म, नेपाली दलालले १ देखि २ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, युवतीका परिवारलाई ५० देखि ६० हजार रुपैयाँ दिने गरेको पनि खुलेको छ।






