सडक निर्माणको माग गर्दै गगन थापा धर्नामा, भने-सडक संघर्षलाई सिंहदरबारभित्रै लैजान्छौँ
काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापासहित काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीय जनताले सडक विभागको कार्यालय अगाडि धर्ना दिएका छन....
काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापासहित काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीय जनताले सडक विभागको कार्यालय अगाडि धर्ना दिएका छन्।
ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय ललितपुरको चाकुपाटमा धर्ना दिएका हुन्। काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीविरुद्ध स्थानीयले धर्ना दिएका छन्।
चावहिल, कपन लगायत काठमाडौं क्षेत्र नम्बर ४ का सडक निर्माणका लागि तोकिएको समय गत वैशाखमै सकिएको छ। सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई दुई वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।
कांग्रेस सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन्। सांसद थापाले आफूहरुको अनुरोधलाई बेवास्ता गरेको सडक विभाग र मन्त्रालयविरुद्ध सडक संघर्षलाई सिंहदरबारभित्र लैजाने चेतावनी दिए।
काठमाडौं क्षेत्र नम्बर ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले लिएको छ। शैलुङ कन्स्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसदको विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ।






