Kathmandu Press

जकार्ता डुब्दै गएपछि इन्डाेनेसियाले अनावरण गर्‍यो नयाँ राजधानी

इन्डोनेसियाले नयाँ राजधानी अनावरण गरेको छ। बोर्नियो टापुको बाक्लो जंगलमा रहेको उक्त बहुप्रतिक्षित राजधानीको कुल ‍लागत ३३ अर्ब अमेरिकी डलर बताइएको छ।

अत्य....

जकार्ता डुब्दै गएपछि इन्डाेनेसियाले अनावरण गर्‍यो नयाँ राजधानी

इन्डोनेसियाले नयाँ राजधानी अनावरण गरेको छ। बोर्नियो टापुको बाक्लो जंगलमा रहेको उक्त बहुप्रतिक्षित राजधानीको कुल ‍लागत ३३ अर्ब अमेरिकी डलर बताइएको छ।

अत्यधिक भीडभाडयुक्त र प्रदुषित महानगर तथा वर्तमान राजधानी जकार्ता विस्तारै समुद्रमा डुब्दैछ। विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको चौथो देशको राजधानी जाभा द्वीपमा छ। यहाँ एक करोड मानिस बस्छन्। बाढी र भूकम्पको जोखिम अत्यधिक छ। ट्राफिक जाम पनि उत्तिकै हुन्छ। 

इन्डोनेसियाको बोर्नियोस्थित इस्ट कालिमान्तान प्रान्तको नर्थ पेनाजम पासेर र कुताइन कार्तानेगारा क्षेत्रमा पर्ने नयाँ राजधानीको नाम अझै तय नभएको राष्ट्रपति जोको विडोडोले एउटा प्रेस सम्मेलनमा बताएका छन्।

Hardik ivf

“यो इन्डोनेसियाको केन्द्रमा रहेको रणनीतिक स्थान हो। बढ्दो शहरी क्षेत्र नजिक छ,” विडोडोले भने। सन् २०२४ मा स्थानान्तरण सुरू गर्ने भए तत्काल योजना बनाउन थाल्नुपर्ने उनले बताएका छन्। जकार्तादेखि दुई हजार किलोमिटर उत्तरपूर्वमा रहेको नयाँ राजधानी बन्ने क्षेत्रमा प्राकृतिक विपद्को जोखिम एकदमै न्यून छ। इन्डोनेसिया १७ हजार टापु मिलेर बनेको देश हो। यहाँ प्राकृतिक विपद् सामान्य हो।

जाभाबाट राजधानी सार्नुको आर्थिक र राजनीतिक कारणहरू भएको विडोडोले बताए। इन्डोनेसियाको कुल जनसंख्या २६ करोड छ। कुल जनसंख्याको ५४ प्रतिशत बस्ने जकार्ताले कुल गार्हस्थ उत्पादनमा ५८ प्रतिशत योगदान पुर्या उने उनले बताए। वातावरणविद्हरूको अर्कै चिन्ता छ। राजधानी सारे वन विनाश हुने उनीहरूको डर छ।

त्यहाँको जंगलमा ओराङउटान, सन बेयर र लङ नोज्ड मङ्की पाइन्छ। कोइला खानी र ताडीको तेल उद्योगले यहाँ प्रदूषण पनि बढाइरहेको छ। “यसले वातावरणमा प्रभाव पार्नेछ,” ग्रिनपिसका सिनियर फरेस्ट क्याम्पेनर ज्यास्मिन पुतेरीले भने,“प्रदूषण, पानीको सङ्कट र बाढीले जकार्तामा धेरै नाश गरेको छ। नयाँ राजधानीमा हामी यो समस्या चाहँदैनौं।”

नयाँ राजधानी जंगलमा बनेको “स्मार्ट शहर” होस् भन्ने अधिकारी चाहन्छन्। उनीहरूले एक लाख ८० हजार हेक्टर सरकारी जमिन पनि छुट्याएका छन्। प्रशासनिक केन्द्रलाई सार्न ३३ अर्ब अमेरिकी डलर जति खर्च हुने विडोडोले बताएका छन्। यसमा १९ प्रतिशत राज्यले लगानी गर्नेछ। 

बाँकी रकम सार्वजनिक निजी साझेदारी र निजी लगानीबाट जुटाइनेछ। नयाँ सरकारी भवनका साथै करिब १५ लाख सरकारी कर्मचारीका लागि आवास पनि बनाइनेछ। इस्ट कालिमान्तानको कुल जनसंख्या ३५ लाख छ। कुटाइ कार्तानेगारा र नर्थ पेनाजाम पासेरमा करिब नौ लाख मानिस बस्छन्।

राजधानी सार्ने खबरलाई प्रान्तका निर्माण व्यवसायी संघले स्वागत गरेको छ। यसबाट लगानी वृद्धि हुने उनीहरूको आशा छ। तर राष्ट्रिय व्यावसायिक समूह बढी चनाखो छन्। “लगानीकर्ताले नाफा हेर्छन्,” इन्डोनेसियन एम्प्लोयर्स एसोसिएसनका अध्यक्ष हारियादी सुकमदानीले भने। च्याम्बर अफ कमर्सका उपाध्यक्ष शिन्ता काम्दानीले नयाँ राजधानी इन्डोनेसियाका लागि सकारात्मक भएको बताए।

तर सरकारी कार्यालय सार्दा सेवा अवरूद्ध नभएको सुनिश्चित गर्न समयतालिकाबारे कम्पनीहरू जानकार हुनुपर्ने आग्रह गरेका छन्। दक्षिण एशियामा राजधानी सार्ने इन्डोनेसिया पहिलो देश भने होइन। सन् २००५ मा म्यान्मारका सत्तारूढ जर्णेलहरू उपनिवेशकालको राजधानी याङ्गुनबाट करिब तीन सय २० किलोमिटर टाढाको पहाडी शहर नेपिड सरे।

सन् १९९० ताका मलेसियका नेता महाथिर मोहम्मदले क्वालालम्पुरभन्दा ३३ किलोमिटर टाढा पुत्रजयमा प्रशासनिक राजधानी बनाए। सरकारले चाँडै नै एउटा विधेयक र सम्भाव्यता अध्ययन संसदलाई बुझाउने विडोडोले बताए। भूमि अधिग्रहण अर्को वर्षदेखि सुरू हुने योजना मन्त्री बाम्बाङ ब्रोजोनेगोरोले बताए।
 

प्रकाशित मिति: ०७:०७ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्