Kathmandu Press

सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीसँग हेल्लोहाइमात्रै भएको हो, क्याविनेट बसेको होइन’

काठमाडौं, भदौ १२ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फेरेन्समा हेल्....

 सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीसँग हेल्लोहाइमात्रै भएको हो, क्याविनेट बसेको होइन’
फाइल

काठमाडौं, भदौ १२ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फेरेन्समा हेल्लोहाइमात्रै भएको बताएका छन्।

भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसाएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भिडियो कन्फेरेन्समा प्रधानमन्त्री ओलीले हेल्लो भनेको र मन्त्रिपरिषदका सदस्यहरुले नमस्कारमात्रै गरेको बताएका हुन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद् बैठक नबसेको स्पष्ट पारे।

उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए। 

‘मन्त्रिपरिषदले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फेरेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ। तर हामीले क्याविनेट बैठक भनेर भनेका पनि छैनौं। एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन। यो पहिलो प्रयास र अभ्यास हो। हामी टेक्नोलोजीमा गर्न सक्छौ भन्ने प्रमाणित भयो भनेका छौं,’ उनले भने।

प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले हेल्लोहाइ भन्नका लागि मात्रै भिडियो कन्फेरेन्स  गरिएको हो भने कार्यसम्पादन नियमावली किन संशोधन गरियो भनेर प्रश्न गरेका थिए।

त्यसको जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्दा गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फेरेन्समार्फत क्याबिनेट पनि बस्न सक्ने बताए। 

विदेशमा जहाजबाट नै मन्त्रीपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फेरेन्सलाई सूचना चुहियो र गोपनीयता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनको छ।

मन्त्रिपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीसँग भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दै आएका छन्।  
 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ १२, २०७६