Kathmandu Press

निधिले भने,‘कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहनुस्’

काठमाडौं, भदौ १२ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संके....

निधिले भने,‘कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहनुस्’

काठमाडौं, भदौ १२ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘युवा र राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी कानून नै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन्। 

निधिले अधिनायकवादी प्रवृत्तिबाट कानून नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाइने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए।

‘कार्यपालिकाको प्रमुख बिरामी परेर विदेश जानुभयो। त्यो पनि कानूनमै संशोधन गरेर। अवैधानिक तरिकाले अधिनायकवादी प्रवृत्तिबाट कानून परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न पाइँदैन। यो खतरनाक संकेत हो,’ निधिले भने।

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेटविरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए। निधिले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहीत हुने गरी व्यवस्था गरेको आरोप लगाए।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, भदौ १२, २०७६