Kathmandu Press

पूर्वअर्थमन्त्री कार्कीको प्रश्न- माथिल्लो तामाकोशी निर्माणमा ढिलाइ किन? 

काठमाडौं, भदौ १२ : सांसदहरुले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

....
पूर्वअर्थमन्त्री कार्कीको प्रश्न- माथिल्लो तामाकोशी निर्माणमा ढिलाइ किन? 

काठमाडौं, भदौ १२ : सांसदहरुले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकाले गम्भीर हुन सरकारलाई आग्रह गरे।

‘आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने। उनले स्वदेशी  लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै किन त्यस्तो भएको हो भनी  प्रश्न गरे। 

बैठकमा नेकपाका  वसन्त नेम्वाङले  सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनको माग गरे।  

देशव्यापी रुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापी रुपमा पूर्णरुपमा विद्युतीकरण गर्ने गरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमा समेत सकारात्मक पार्ने  उनले बताए।

सांसद  नेम्वाङले  सबै नेपाली जनताको घरघरमा उज्यालो पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गरे। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ सहयोग रहने बताए।  

 नेकपाका विन्दा पाण्डेले नागरिकतासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सदनको ध्यानाकर्षण गराइन्। उनले चालू अधिवेशनमा सो विधेयक पारित हुन नसके त्यसबाट प्रभावित हुने नागरिकका लागि  शिक्षा र  स्वास्थ्य पेशा व्यवसाय सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गर्न माग गरिन्। 

सांसद हृदयेश त्रिपाठीले पनि राज्य व्यवस्था समितिमा लामो समयदेखि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल भए पनि कुनै निष्कर्षमा पुर्‍याउन नसकेका कारण समस्या पैदा भएको गुनासो गरे।  

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, भदौ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्