Kathmandu Press

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं, भदौ १२ : सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई राष्ट्रियसभामा पेश गरेको छ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्....

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं, भदौ १२ : सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई राष्ट्रियसभामा पेश गरेको छ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन्। विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरि विधेयक ल्याईएको बताए।

उनले विधेयकमा उल्लेखित दण्ड जरिवानाको विषयलाई अदालति विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने बताए। सरोकारवालासंग छलफल गरेर विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका थिए।  

नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु राधेश्याम अधिकारी, सरिता प्रसाई, अनिता देवकोटा र प्रकाश पन्थले विरोध सूचना प्रस्ताव गरेका थिए।

यसअघि विरोधको सूचनाको प्रस्ताव प्रस्तुत गर्दै सांसद राधेश्याम अधिकारीले विधेयकमा मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र नियमनकारी निकायको रुपमा स्वीकार गर्न नसक्नु आपत्तीजनक रहेको बताए।

उनले मिडिया काउन्सिलका अध्यक्ष र सदस्य नियुक्तिको मापदण्ड नमिलेको, पदाधिकारीलाई हटाउने विधि पनि आपत्तीजनक रहेको भन्दै प्रेस काउन्सिलको स्वायत्ततामा कुनै पनि आँच आउने प्रावधान स्वीकार्न नसकिने बताए।

उनले जरिवाना शुल्क र काउन्सिललाई सरकारले निर्देशन दिने कुरालाई स्वीकार गर्न नसकिने भन्दै विधेयक फिर्ता लैजानुपर्ने बताए।

राष्ट्रियसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, भदौ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्