‘गोर्खा वारियर–२’ को छायांकनमा भिरबाट लडेर नायक रितेश घाइते
काठमाडौं, मंसिर २९ : ‘गोर्खा वारियर–२’ का अभिनेता रितेश चाम्स छायांकनका क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्। रितेशको यतीबेला सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनिकमा...
काठमाडौं, मंसिर २९ : ‘गोर्खा वारियर–२’ का अभिनेता रितेश चाम्स छायांकनका क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्। रितेशको यतीबेला सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भइरहेको निर्माता एवम् निर्देशक मिलन चाम्सले बताए।
तीन सातादेखि सिन्धुलीको कमलामाई क्षेत्रमा यो चलचित्रको छायांकन भइरहेको थियो। निर्देशक चाम्सका अनुसार रितेशको घाँटीमा गम्भीर चोट लागेको छ। शरीरका अन्य भागमा पनि चोट लागेको उनले बताए।
निर्देशक चाम्सले भने, ‘चलचित्रको छायांकनका क्रममा बुधबार बिहान अभिनेता रितेश भिरबाट झर्दै तल गहिरोमा पुगेर आक्रमण गर्नुपर्ने दृश्य थियो। सो क्रममा असन्तुलित भएर उनी भिरबाट लडेपछि रुखमा ठोकिँदै तल जमिनमा गएर बजारिँदा गम्भीर चोट लागेको हो।’ रितेशलाई कम्तीमा पनि १० दिनसम्म पूर्ण आरामसहित उपचार गर्न चिकित्सकले सल्लाह दिएको पनि निर्देशक चाम्सले बताएका छन्।
निकै जोखिम दृश्य भएकाले स्टन्ट म्यानबाट त्यो दृश्य गर्नुपर्नेमा रितेशले आफैं गर्छु भन्ने हिम्मत जुटाएका थिए। तर, असन्तुलित हुँदा उनी भिरबाट लडेको निर्देशक चाम्सले जानकारी गराए।
चलचित्रमा द्वन्द्वको केही कठिन दृश्यका लागि भारतबाट प्राविधिकहरु बुधबार नै छायांकन स्थलमा पुग्दैछन्। सोही कारण चलचित्रको छायांकन रोक्न गाह्रो भएको पनि निर्देशक मिलन चाम्सले बताए। रितेशले उपचार गरिरहँदा अरुको छायांकन सक्ने र उनी ठीक भएपछि उनको छायांकन गर्ने पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए।
‘गोर्खा वारियर–२’को बाँकी छायांकन सिन्धुलीमा ९ मंसिरबाट सुरु भएको हो। चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहनेछ। रितेश नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दैछन्।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताका रूपमा सुरेश राई छन्। यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिनेछ। नेपालको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि बिदेश लाग्ने छ। बिदेश अन्तर्गत बेलायत, भारत, मलेशिया लगायतका देशमा गोर्खा वारियर २ को छायाँकन गरिनेछ।
‘गोर्खा वारियर २’ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ।












