१२ वर्षपछि जापानमा उडान भर्दै निगम, राज्यमन्त्रीसहित सय जनाको जम्बो टोली जाने
काठमाडौं, भदौ ११ : नेपाल वायुसेवा निगमले वाइडवडी जहाजमार्फत १२ वर्षपछि बिहीबार बिहानदेखि पुनः जापानको ओशाका उडान गर्दैछ। निगमले यसअघि १२ अप्रिल २....

काठमाडौं, भदौ ११ : नेपाल वायुसेवा निगमले वाइडवडी जहाजमार्फत १२ वर्षपछि बिहीबार बिहानदेखि पुनः जापानको ओशाका उडान गर्दैछ। निगमले यसअघि १२ अप्रिल २००७ मा ओशाकामा अन्तिम उडान गरेको थियो।
निगमले नयाँ र लामो गन्तव्यका लागि भन्दै १३ महिनाअघि एयरवस ३३०–२०० सिरिजका दुई थान जहाज खरिद गरेको थियो। जहाज खरिदसँगै गन्तव्य नपाउँदा छोटो र पुरानो गन्तव्यमा उडान भर्दै आएको थियो।
जहाज भित्रिएको १३ महिनापछि बल्ल नयाँ गन्तव्य पाएको हो। निगमको जहाज बिहीबार बिहान २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको ओशाका उडान भर्नेछ। जापानका लागि पहिलो फ्लाइट निगमका क्याप्टेन श्रवण रिजाल र महेश्वरमान डङ्गोलले भर्नेछन् भने फर्किँदा निगमका क्याप्टेन विजय लामाले जहाज काठमाडौं ल्याउने छन्।
पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा सांसददेखि कर्मचारी र अन्य क्षेत्रबाट गरी एक सय जना भन्दा बढीको जम्बो टोली त्यसतर्फ प्रस्थान गर्नेछ।
२ सय ७४ सिट क्षमताको जहाजमा टिकट भने ५६ वटा मात्रै विक्री भएको छ। निगमले सुरुवाती चरणमा एक महिनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८ सय १४ रुपैयाँ भाडादर तोकेको छ।
निगमले साताका तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्नेछ। काठमाडौंबाट ६ घण्टा ३० मिनेटमा ओशाका पुग्न सकिन्छ। काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओशाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ।











-1784808429.png)