Kathmandu Press

काठमाडौं-तराई द्रूत मार्ग निर्माण साढे तीन वर्षभित्रै सकिने

काठमाडौं, भदौ ११ : नेपाली सेनाले काठमाडौं–तराई द्रूत मार्ग निर्माणको काम साढे तीन वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ।

सेनाले बुधबा....

काठमाडौं-तराई द्रूत मार्ग निर्माण साढे तीन वर्षभित्रै सकिने

काठमाडौं, भदौ ११ : नेपाली सेनाले काठमाडौं–तराई द्रूत मार्ग निर्माणको काम साढे तीन वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ।

सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं–तराई द्रूत मार्ग निर्माणको काम साढे तीन वर्षभित्रै सम्पन्न गर्ने जनाएको हो। विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ।

मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ। अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ।

आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन। निर्माणको समयमा आउने विविध र भइपरि खर्चको नेपाल सरकारले उपलब्ध गराउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

दू्रत मार्ग खोकनाबाट सुरु भई निजगढसम्म ७२ दशमलव ५ किलोमिटर को चार लेनको बाटो निर्माण हुने भएको छ। यो यसअघिको डिपिआरको भन्दा ३ दशमलव ७० किलोमिटर सडक लम्बाइ कम हो। 

पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ। यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। यो सडकमा तीन वटा सुरुङ्ग मार्ग बन्ने भएको छ। महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलोमिटर सुरुङ्ग मार्ग बन्ने छ। 

यसअघि एसियाली विकास बैंकले छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको सहायक रथी एवं कामठाडौं तराई द्रूतमार्ग आयोजनाका प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिए।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिवर्तन गरेको छ। खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो। धार्मिक एवं सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ।

साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन गरिएको श्रेष्ठले बताए। द्रूत मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ। रक्षा मन्त्रालयले पेश गरेको पाँच महिनापछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रूत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो। 

द्रूत मार्ग निर्माणको क्रममा एक लाख ५१ हजार रुख काटिने सम्भावना छ।  
 

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, भदौ ११, २०७६