‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक
काठमाडौं, मंसिर २५ : खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ।नेपालमा गाँजामा आधारित कृषि र...
काठमाडौं, मंसिर २५ : खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ।
नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले प्रकाशन गरिएको सो पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरे।
विश्व हिन्दु युवासंघले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेपाल र विश्वमा गाँजाको अवस्था, गाँजाको औषधीय उपयोग र गाँजासम्बन्धी ऐनकानुन, नीति नियम, विधेयकका बारेमा चर्चा गरिएको छ।
विश्व हिन्दू युवासङ्घका अध्यक्ष ऋषिकेशजंग शाहले गाँजा व्यवसायले नेपालमा रोजगारी सिर्जना गर्ने बताउँदै सरकारले गाँजा आयोग गठन गरेर गाँजाको उपयोगिताबारे देशभित्र बहस नै सञ्चालन गर्नुपर्ने माग गरे।
विगत १५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत लेखक घिमिरे गाँजा, हर्बल र हिलिङ फुडको विकासका लागि नवप्रवर्तन विषयमा लेख्दै आएका छन्।
सरकारका पूर्वसचिव उपाध्यायले खासगरी गाँजाको आयुर्वेदिक महत्व र उपयोगिताबारे सकारात्मक सचेतना जगाउनुपर्नेमा जोड दिए।












