डेङ्गुको महामारी, एकको मृत्यु, तीन सय ४६ बिरामी
चितवन, भदौ ११ : चितवनमा डेङ्गुको महामारी फैलिएको छ। दैनिक बरामी बढ्दै गएका छन्। एक जनाको मृत्यु भइसकेको छ भने अहिले तीन सय ४६ जना बिरामी भएका छन्।
....
चितवन, भदौ ११ : चितवनमा डेङ्गुको महामारी फैलिएको छ। दैनिक बरामी बढ्दै गएका छन्। एक जनाको मृत्यु भइसकेको छ भने अहिले तीन सय ४६ जना बिरामी भएका छन्।
डेङ्गुका बिरामी दिनदिनै बढ्दै गएको स्वास्थ्य कार्यालयले चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार, साउनयता एक हजार एक सय ५३ जनाको नमूना परीक्षण गरिएको छ। जसमा तीन सय ४६ जनामा डेङ्गुको संक्रमण देखिएको हो। यहाँका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको बकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ।
यी अस्पतालमा आएका ज्वरोका बिरामीहरुबाट लिइएको नमूनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए। यस अघि पनि चितवनमा हरेक तीन÷तीन वर्षमा डेङ्गुको महामारी फैलिँदै आएको थियो। यो पटक भने नियन्त्रण गर्न मुस्किल भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
यस अघि २०७४ मा दुई हजार पाँच ६२ जनामा परीक्षण गर्दा ६ सय ८७ जनामा डेङ्गु फेला परेको थियो। त्यो वर्ष एक जनाको मृत्यु भएको थियो।
यो रोग सरुवा रोग हो। जुन डेङ्गुको विषाणु भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने गर्छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी सङ्ख्यामा पाइने गरेको छ। डब्बाहरु, एयर कन्डिसन, एयर कुलर, ड्रमहरु, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फूल पार्ने गर्छ।
डेङ्गु सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गरेका छन्।
त्यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने लक्षण देखा पर्ने गरेको डा.अधिकारीले बताए।
डेङ्गु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको उनको भनाइ छ।
यसैबीच स्थानीय सरकारले डेङ्गु नियन्त्रणका लागि सहयोग गर्न संघीय सरकारसँग आग्रह गरेको छ। स्थानीय सरकारको प्रयासले नियन्त्रण गर्न नसकिएको जनाएको छ।











-1784808429.png)