Kathmandu Press

यस्ता छन् नाडा अटो शोमा सार्वजनिक भएका नयाँ गाडीहरू   

काठमाडौं, भदौ १० : नाडा अटो शो–२०१९ काठमाडौंमा सुरू भएको छ। नाडा अटो मोबाइल्स  एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो २०१९....

यस्ता छन् नाडा अटो शोमा सार्वजनिक भएका नयाँ गाडीहरू   
रिवाज राई

काठमाडौं, भदौ १० : नाडा अटो शो–२०१९ काठमाडौंमा सुरू भएको छ। नाडा अटो मोबाइल्स  एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो २०१९ मा  सवारी तथा सवारी जन्य सामाग्रीको मेलामा दर्जनाैं ब्रान्डका गाडीहरु प्रदर्शनीमा राखिएको छ। 

दर्जनाैं ब्रान्डले सहभागिता जनाएको प्रदर्शनीमा हाइब्रिड, इलेक्ट्रिक गाडी तथा डिजेल पेट्रोल इन्जिन गाडीहरु पनि सार्वजनिक गरिएका छन्। यस्ता छन् नाडा अटो शोमा सार्वजनिक भएका नयाँ गाडीः

टोयटाका दुई हाइब्रिड गाडी

सरकारले भन्सार दरमा भारी छुट दिएसँगै टोयटाले नाडा अटो शो २०१९ मा दुई हाइब्रिड गाडीका मोडल सार्वजनिक गरेको छ। टोयटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता वैद्यज् अर्गनाइजेसनले मंगलबार अल न्यू क्यामब्री र र्‍याप ४ हाइब्रिड गाडी सार्वजनिक गरेको हो। कम्पनीले अल न्यू क्यामब्रीको १ करोड ३१ लाख रुपैयाँ र र्‍याप ४ को १ करोड ३४ लाख रुपैयाँ मूल्य तोकिएको छ। 

दुबै हाइब्रिड गाडीको इन्जिन क्षमता भने २ हजार ४ सय ८७ सीसी रहेको छ। भने इन्धन ट्यांकी क्षमता ५५ लिटर रहेको छ।  सरकारले बजेटमार्फत ५० प्रतिशत भन्दा बढी भन्सार छुट दिएसँगै टोयटाले हाइब्रिड गाडी नेपालमा ल्याएको हो। विगतमा उक्त गाडीहरुको २ करोड भन्दा मूल्य बढी पर्दथ्यो। महँगो भन्दै नेपाल नल्याएको टोयटाले यसपटक नाडा अटो शोलाई केन्द्रित गरेर सार्वजनिक गरेको हो। 

टाटा गाडीको अल न्यू एच–५ मोडल 

टाटा गाडीको अल न्यू एच–५ मोडल सार्वजनिक गरिएको छ। नाडा अटो शोलाई केन्द्रित गरेर टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पछिल्लो उत्पादन अल न्यू एच ५ गाडी सार्वजनिक गरिएको हो। जसको सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ। 

एच–५ एक्स इ भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ४४ लाख ५५ हजार, एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ तोकिएको हो। एक्सइ यो एसयूभीको लो भेरियन्ट हो भने एक्सजेड टप भेरियन्ट हो। क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन एच ५ मा दिएको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क उत्पादन गर्छ।

एच ५ को लम्बाइ ४५९८ एमएम, चौडाइ १८९४ एमएम, उचाइ १७१४ एमएम रहेको छ। यसको ह्वीलवेश २७४१ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको कम्पनीले जनाएको छ।यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ। एच ५ मा सुपर–ड्राइभ मोड दिइएको छ भने कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्सन प्रदान गरिएको छ। 

महिन्द्रा गाडीको एक्सयूभी–३००  

महिन्द्रा गाडीको एक्सयूभी–३०० मोडल गाडी सार्वजनिक गरेको छ। महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेट प्रालिले दुई इन्जिन अप्सनमा ६ वटा भेरियन्ट सार्वजनिक गरेको हो। नाडा अटो शो २०१९ लाई केन्द्रित गरेर कम्पनीले ६ भेरियन्टमा गाडी सार्वजनिक गरेको हो। 

भारतीय बजारमा अध्याधिक रुचाइएको सब कम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अत्याधुनिक सेग्मेन्ट फस्ट थुप्रै विशेषतासहित नेपालमा ल्याइएको हो।  कम्पनीले डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) गरी चार वटा भेरियन्टमा सार्वजनिक गरेको हो। नयाँ एक्सयूभी ३०० पेट्रोल भेरियन्ट डब्लु ४ को मूल्य  ३९ लाख ७५ हजार र डब्लु ८ (अफ्सनल) को मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकेको छ। 

त्यसैगरी, डिजेलमा डब्लु ४ भेरियन्टको मूल्य ४१ लाख २५ हजार, डब्लु ६ भेरियन्टको ४५ लाख, डब्लु ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) को मूल्य ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ। यी सवारीसाधन नेपालभर रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने भएको छ। गाडीमा एसयूभी ६ रंगहरूमा एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ। 

हुन्डाइको भेन्यू 

हुन्डाइले बहुप्रतिक्षित ‘भेन्यू’ गाडी नेपाल भित्र्याएको छ। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यू गाडी नेपालमा सार्वजनिक हो। हुन्डाइ भेन्यू तीन फरक–फरक इन्जिनका सिरिजमा नेपालमा पनि सार्वजनिक  गरिएको हो। भेन्यूका तीन वटा अप्सन रहेका छन्। कम्पनी ३४ लाख ९६ हजार  देखि ५५ लाख ९६ हजार रुपैयाँसम्मका फुल अप्सन गाडी सार्वजनिक गरेको हो।  

एक हजार २ सय सीसी इन्जिन क्षमताको पेट्रोल इन्जिनको कप्पा डुअल भिटिभिटी  टेक्नोलोजीको मोडलको गाडी सार्वजनिक गरेको छ। जसको बजार मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। सोही इन्जिन क्षमताकै कप्पाको ३७ लाख ९६ हजार रुपैयाँ बजार मूल्य तोकिएको छ। त्यस्तैगरी, १.० टर्वो पेट्रोल इन्जिनकै कप्पा भिटिभिटी टेक्नलोजीमा रहेको छ। जसमा पाँच वटा मोडलका गाडीहरु सार्वजनिक गरेको छ। जसको मूल्य ४१ लाख ९६ हजार देखि ५५ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ।

त्यस्तैगरी, १.४ लिटर को डिजेल इन्जिनको सिक्स एमटी गाडी मोडलको गाडीको मूल्य ४२ लाख ५६ हजार देखि ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ। गाडीमा रियोस्टयाट, एड्भान्स सुपरभिजन क्लसटर, ड्राइभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट प्रमुख विशेषता रहेको छ। इलेक्ट्रोनिक स्टेबिलटी कन्ट्रोल गाडीका नयाँ विशेषता हुन्। 

गाडीमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहित २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले समेत गाडीमा रहेको छ। एअर प्युरिफायर तथा रिएर एसी भेन्ट रहेको छ। गाडीले प्रतिलिटर तेलमा १७.५२ किलोमिटरदेखि २३.७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। पाँच सिट क्षमता भएको गाडीमा ट्रान्समिसन मेनुअल र अटोमेटिक दुबै रहेको छ।
 

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, भदौ १०, २०७६