कांग्रेसप्रति लक्षित गर्दै सरकारका प्रवक्ताले भने- <br>खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाए हुन्छ
काठमाडाैं, भदाैं १० : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तर्क्रिया गर्नु स्व....
काठमाडाैं, भदाैं १० : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तर्क्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तर्क्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताएका हुन्।
मंगलबार संसदमा प्रतिपक्षी दल कांग्रेसले भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेकोप्रति आपत्ति जनाएपछि प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर उठाएको विषय गलत भएको बताए।
उनले भने, “कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो।”
मन्त्री बाँस्कोटाले भने, “सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन्। केही समयका निम्ति उहाँ उपचारका लागि जानुभएको हो। यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन। प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन। केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो।”
यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्रिया गर्न सक्ने निर्णय गरेको थियो। उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे।
आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरुले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे।
आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न उनले सबैलाई आग्रह गरे। गलत कुरालाई नेपाली जनताले नपत्याउने भन्दै मन्त्री बाँस्कोटाले क्षणिक सन्तुष्टिका लागि अनावश्यक र नचाहिँदा कुरा गर्नुको समेत कुनै तुक नभएको स्पष्ट पारे।
वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवि र व्यक्तित्वमाथि प्रश्न नगर्न चुनौती दिँदै मन्त्री बाँस्कोटाले भने, “केपी ओलीको राष्ट्रवाद कोही कसैले बनाइदिएको होइन। धर्तीको आजको मान्छेले यो पाठ पढाउनुपर्दैन। के राष्ट्रवाद के राष्ट्रघात भन्ने कुरा पनि बुझ्नुपर्छ, गलत कुरा गर्नेहरु डेडअक्कली राष्ट्रवादी हुन्। त्यस्ताका टिप्पणी गर्नु आवश्यक छैन।” रासस






