एसएलसी फेल हुँदादेखि नेता हार्दासम्म मिल्ने गीत : यसपालि त मनै फाट्यो...
अस्ति भर्खर पनि ओलीले एक कार्यक्रममा थापाका शब्द ‘पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जुन बन्द गीतहरू’कै शैलीमा भनेका थिए- ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू। ओली याद आउने सबै चिजहरू।’काठमाडौं, मंसिर २२ : यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देलले जितेपछि अर्का प्रतिस्पर्धी नेता कमल थापाले सामाजिक सञ्जालमा लेखे, ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिह्न खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो-
‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ।
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ।’
अरुणा लामाको स्वरमा रहेको गीत निकै चर्चित छ। नेपाली मनले रुचाएको गीत हो यो। आफ्नो गीत लोकप्रिय हुँदा र राष्ट्रिय राजनीतिमा घट्ने केही घटनासँग आफ्नो गीतको मर्म मिल्न गई चर्चा पाउँदा गीतकारलाई खुसी नै लाग्ने भयो। तर, राजेन्द्र थापाको एउटा गुनासो छ, नेपालमा गीतकारको नाम लिइँदैन।
‘केपी शर्मा ओलीले सदनमा प्रचण्डलाई संकेत गर्दै ‘मन फाट्यो भने सिलाइन्छ’ भन्दै अरुणा लामाको नाम लिएका थिए,’ गीतकार थापाले टेलिफोनमा भने, ‘त्यसबेला अरुणा लामाको नाम लिँदा कान्तिपुरको पाठक स्तम्भमा मैले लेखेको थिएँ, ‘प्रधानमन्त्रीले मेरो नैतिक अधिकार हनन गर्नुभो, त्यो गीत अरुणा लामाको होइन, अरुणा लामाको स्वर हो। शब्द प्रयोग गरेपछि गीतकारको नाम लिनुपर्छ।’
अस्ति भर्खर पनि ओलीले एक कार्यक्रममा थापाका शब्द ‘पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जुन बन्द गीतहरू’कै शैलीमा भनेका थिए- ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू। ओली याद आउने सबै चिजहरू।’
आफ्नो गीतलाई प्यारोडी बनाउँदा पनि ओलीले मेरो नाम नलिएको थापाको भनाइ छ।
कसरी जन्म्यो, पोहोर साल खुसी फाट्दा ?
गीतकार थापाका अनुसार, यो गीत २०३१ सालमा लेखिएको हो। ‘त्यति बेला म इलाम जाँदै गर्दा यो गीतको पहिलो हरफ फुरेको थियो,’ थापाले टेलिफोनमा भने, ‘त्यतिबेला साथमा कापी-कलम थिएन। चालकसँग चुरोटको बट्टा मागेर भाँचिएको पेन्सिललाई दाँतले टोकेर लेखेको हुँ। बाँकी गीत पोखराको फेवातालमा पाल ठड्याएर बस्दा लेखेको हुँ। त्यतिबेला म नेपाली सेनामा कार्यरत थिएँ। यो गीत पाँच टुक्रा लेखेको छु, तीन टुक्रा मात्रै सार्वजनिक भएको हो।’
उनका अनुसार, २०३१ सालमा लेखिए पनि यो गीत २०३३ सालमा रेकर्ड भएको हो, अरुणा लामाको स्वर र अम्बर गुरुङको संगीतमा।
यो गीत लेख्दाका बेला आफू २२-२३ वर्षको भएको थापा बताउँछन्। ‘आफ्नो श्रीमान् बितेपछि अरुणा लामाले गीत गाउनुभएको थिएन। पछि उहाँले मेरो त्यो गीत गाउनुभयो,’ थापा भन्छन्, ‘यो गीत सुरुदेखि हिट भयो। अहिले ४५ वर्षपछि पनि चर्चामा छ। नेपालभर मात्र नभई नेपाली भएको हरेक स्थानमा यो गीतको चर्चा छ।
आफ्ना लागि समस्या पर्दा हरेकले यो गीत आफ्ना लागि लेखेको सम्झन्छ। पहिले यो गीत अरुणा लामाका लागि लेखेको भन्ने सोचे। कसैले एसएलसी फेल हुँदा मन फाट्यो भनिदिएका छन्। कसैको सम्बन्धविच्छेद हुँदा यो गीत गाउँछन्। पार्टी फुट्दा र नेता हार्दा पनि यही गीत सम्झन्छन्। एमाले र माले फुट्दा पनि सायद दृष्टि अखबारमा ‘यसपालि त मनै फाट्यो’ शीर्षकसहित समाचार आएको थियो। कांग्रेस फुट्दा पनि ‘यसपालि त मनै फाट्यो’ शीर्षकमै लेखिएको थियो।’
गीत :
पोहोर साल खुसी फाट्दा
जतन गरी मनले टालेँ।
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टालँे।
यसपालि त मनै फाट्यो
केले सिउने केले टाल्ने हो !
सास फेरेजस्तो लाग्छ,
तर भन्छन् मरिसकिस्।
तेरो भाग्य यति नै हो,
भोगचलन गरिसकिस्।
सलहको भाग्य मेरो,
मर्ने–बाँच्ने ठेगान छैन।
भाग्य फाटे सिउथेँ बरु
तर मन सिउने केले हो ?
सुख के हो ? दुःख के हो ?
मनले खोज्ने खुसी के हो ?
भावीले निधारमा कर्म लेखिदिने मसी के हो ?
कर्म लेख्ने मसी के हो ?
भाग्य तोक्ने कसी के हो ?
कर्म फुटे जोड्थेँ बरु
तर मन जोड्ने केले हो ?