करिमा बेगमको प्रश्नः नागरिकता चाहिँ १६ वर्षमा, छोरीको विहे चाहिँ २० वर्षमा?
कुनै बेला सीडीओलाई थप्पड हानेर समाचारमा छाएकी करिमा बेगम अहिले फेरि चर्चामा छिन् – प्रदेश २ को संसद्मा १६ वर्षमै छोरीको विहे गर्न मिल्ने कानून ल्याउँनुपर्ने अभिव....
कुनै बेला सीडीओलाई थप्पड हानेर समाचारमा छाएकी करिमा बेगम अहिले फेरि चर्चामा छिन् – प्रदेश २ को संसद्मा १६ वर्षमै छोरीको विहे गर्न मिल्ने कानून ल्याउँनुपर्ने अभिव्यक्ति दिएर ।
२०६४ सालमा पर्सा–१ बाट चुनाव जितेकी बेगमले २०६६ सालमा कृषि राज्य मन्त्री हुँदा आफूलाई राम्रो गाडी नदिएको भन्दै पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेकी थिइन् । हाल संघीय समाजवादी फोरमको तर्फबाट प्रदेश २ की सांसद रहेकी बेगमले बिहीबार प्रदेश सभामा बोल्दै बाल विवाहविरुद्धको कानुन व्यवहारिक नरहेको तर्क गरिन् ।
काठमाडौं प्रेसले शुक्रबार बेगमसँग संक्षिप्त अन्तर्वार्ता गर्याे, जहाँ उनले केटीहरूले छोटो लुगा लगाएर हिँड्ने गरेकै कारण बलात्कारका घटना बढिरहेको तर्क पनि गरिन् ।
किन छोरीको विहे १६ वषमै गर्नुपर्ने ?
अहिले केटाकेटी उमेर नपुग्दै भाग्ने क्रम निकै बढ्यो । यसले समाजमा विकृति फैल्यायो । १६ वर्षमै बिहे गराइदिन पायो भने त उनीहरू भागेर जान पाउँदैनन् । भाग्नुभन्दा पहिले नै बिहे गरेपछि यो समस्याको अन्त्य हुन्छ । समस्या पनि बढ्दैन । भागीविहे रोक्न मैले यो कुरा उठाएकी हुँ ।
तर, कानूनले त २० वर्ष नपुगी विहे गर्न दिँदैन नि !
के हामी यूरोपमा छौँ ? के यहाँ पनि त्यहाँ झै केटाकेटी घुम्ने, फिर्ने, जे मन लाग्यो त्यो गर्ने, केटी ल्याएर घरमा राख्ने, अनि २० वर्ष पुगेपछि विहे गर्न पाइन्छ ? हामी नेपाली हौँ । हाम्रो समाज त्यस्तो छैन । समाजमा यसको नकारात्मक असर परिरहेको छ । पढ्दा–पढ्दै केटाकेटीले भागेर विहे गरिरहेका छन् । यसको जिम्मा कसले लिने ? कि १६ वर्षमै बिहे गर्न पाउनु पर्याे, नत्र यो जिम्मा केन्द्र वा प्रदेश सरकारले लिनु पर्याे।
१६ वर्षमा त शारीरिक रुपमा पनि किशाेरकिशाेरी परिपक्व भइसकेका हुँदैनन्, यति चाँडै विहे गर्दा किशाेरीको स्वास्थ्यमा असर पर्दैन ?
हाम्रो पालामा त १३–१४ वर्षमै विहे गर्ने चलन थियो । कसैलाई केही भएन । मैले पनि १४ वर्षमै विहे गरेकी हुँ । मलाई केही भएको छैन । केही असर पर्दैन । यो आवाज म एक्लैको होइन । यहाँका जनताको आवाज हो । हामी सांसद गाउँघर जान्छौँ । सबैले १६ वर्षकै उमेरमा छोरीको विहे गराउन मिल्ने कानुन चाहियो भन्छन् । त्यसैले मैले यो आवाज उठाएकी हुँ ।
हामी त न राजधानीमा बस्छौँ, न सहर–बजारमा । गाउँघरका छोरीहरु भागेर जाँदा बेइज्जत हुन्छ । यसका लागि अब संघीय सरकारले आवाज उठाउनुपर्छ ।
१६ वर्षमै नागरिकता दिएर २० वर्षमा बिहे गराउँदा जति पनि घट्ना हुन्छन्, यसको जिम्मा सरकारले लिनुपर्छ । कि त २० वर्षको उमेरमै नागरिकता दिनु पर्याे, २० वर्षमै विहे गर्न पर्याे । १६ वर्षमा नागरिकता दिएर २० वर्षमा विहे गर्ने राम्रो भएन ।
तपाईंले केटीहरूले छोटा कपडा लगाएर हिँड्ने गरेकाले बलात्कारको घटना बढिरहेको अभिव्यक्ति पनि दिनुभएको हो ?
हो । यो छोटो कपडामा पनि बन्देज लाउँनु पर्याे । सकेसम्म छोटो कपडा लगाउनै नपाइने हुनुपर्छ । लगाए पनि माथिसम्म पुग्ने मोजा लगाउनु पर्याे । भन्छन् नि – जहाँ आगो हुन्छ, त्यहाँ पुआ राख्नु हुँदैन । आगो राखेको ठाउँमा पुआ राखेपछि त आगो सल्की हाल्छ नि ! जहाँ आगो छ, त्यहाँ पुआ राख्नुभएन वा आगै निभाइदिनु पर्याे । छोटा कपडाले नै अहिले बलात्कारका घटना बढिरहेका छन् ।
मन परेको लुगा लगाउनु त व्यक्तिको अधिकार हो नि!
हो, तर व्यक्तिको अधिकारले समाज बिगार्न पाइँदैन । पूरै जीउ देखाएर बाटोमै हिँड्न त मिल्दैन नि ! यस्तो पनि अधिकार हुन्छ ? छोटा लुगाले समाजमा कस्तो असर पारिरहेको हुन्छ, यो पनि त हेर्नु पर्याे ।